सरकारले मनसुनजन्य विपदलाई मध्यनजर गर्दै कर्मचारीहरुलाई अत्यावश्यक बाहेक कार्यस्थल छाड्न र बिदा बस्न रोक लगाएको छ । साथै भौतिक रुपले उपस्थित हुने गरी बैठक वा गोष्ठी आयोजना गर्न पनि रोक लगाइएको छ ।
आज बसेको नेपाल सरकारका सचिवहरुको बैठकले तीनै तहका सरकारका कर्मचारीहरुका लागि यो निर्णय गरेको हो । निर्णयको बुँदानम्बर ४ (ख)मा लेखिएको छ, ‘मनसुनको कारणबाट हुनसक्ने सम्भावित विपदलाई मध्यनजर गरी नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरु अत्यावश्यक काममा बाहेक कार्यस्थल नछाड्ने र बिदामा नबस्ने । जिल्लास्थित कार्यालय प्रमुखहरुले प्रमुख जिल्ला अधिकारीसँग समन्वय नगरी बिदा नबस्ने । संघीय मन्त्रालयहरुले अत्यावश्यक बाहेक प्रदेशका निकायमा कार्यरत कर्मचारीहरुलाई भौतिक रुपले उपस्थित हुने गरी बैठक गोष्ठीमा आमन्त्रण नगर्ने ।’
सचिवहरुको बैठकले मनसुनजन्य विपद व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालय/निकाय, सुरक्षा निकाय, विकास साझेदार, संयुक्त राष्ट्रसंघीय निकाय, रेडक्रस अभियान तथा गैरसरकारी एवम् सामुदायिक संस्थाहरुले आवश्यक पूर्वतयारी तथा खोज, उद्धार र राहतका कार्यहरु गृहमन्त्रालय तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समन्वयमा प्रभावकारी ढंगले गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।
लाइफलाइन सडकमा भएका अवरोध तत्काल हटाउने व्यवस्था मिलाउने जिम्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिइएको छ ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्