आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) का उम्मेदवार महेश कुमार बर्तौलाले चुनावी अभियानलाई तीव्रता दिएका छन् । मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार बर्तौलाले भीमफेदी गाउँपालिकाका विभिन्न वडाहरूमा पुगेर मतदाताहरूसँग भेटघाट गर्दै आफूलाई मतदान गर्न आग्रह गरेका छन् ।
भीमफेदी–२ को भैंसे दोभान, आँपचौर, टिलटार, कालिटार, चुनियाँ र वडा नम्बर ३ तथा ४ का निबुवाटार र चिउरी बगैंचा टोलहरूमा पुग्नुभएका बर्तौलाले आफू यसै माटोको छोरा भएको स्मरण गरााए । “म भीमफेदीको छोरा हुँ, नामटारमै माध्यमिक शिक्षा लिएको हुँ,“ उनले भने, “अघिल्लो पटक तपाईंहरूले मलाई निर्वाचित गराउनुभयो, तर संसद विघटनका कारण ३२ महिना मात्रै काम गर्न पाएँ । मेरा बाँकी रहेका सपना र अधुरा काम पूरा गर्न तपाईंहरूको साथ चाहिन्छ।“

आफ्नो कार्यकालको समीक्षा गर्दै बर्तौलाले ३२ महिनामा पारित भएका २९ वटा कानुनमध्ये २६ वटामा आफूले प्रत्यक्ष रूपमा काम गरेको जानकारी दिए । उनले थपे, “म मुलतः कानुन निर्माता (विधायक) हुँ, तर यहाँका जनताका लागि सडक, पुल, खानेपानी र सिँचाइ जस्ता पूर्वाधार विकासलाई मैले कहिल्यै कम हुन दिने छैन ।“

भेटघाटका क्रममा स्थानीय बासिन्दाहरूले विकासका योजनाहरू माग गरेका छन् । भीमफेदी–२ बेशीकी राधिका विष्टले बागझोरा पुल र सडकका लागि बजेट विनियोजन भएकोमा खुसी व्यक्त गर्दै आफ्नो खेतलाई खोलाको कटानबाट जोगाउन थप बजेटको माग गरिन् । त्यस्तै, भीमफेदी–३ इच्चुङका राम पाख्रीनले पान्द्राङ–इच्चुङ–बुढीचौर सडकको स्तरोन्नति र विद्यालय सुधारका लागि बर्तौलाकै नेतृत्व आवश्यक रहेको बताए ।

एमाले भीमफेदी उपसचिव आशिष अस्लामीले जनतामा सांसदको मुख्य काम नीति निर्माण हो भन्ने बुझाउन आवश्यक देखिएको बताए । “धेरैजसो मतदाताहरूले टोलको विकास र बजेटको माग गर्नुहुन्छ, उहाँहरूलाई सांसद विधायक पनि हो भन्ने प्रशिक्षित गराउनु पर्नेछ,“ उनले भने ।

अभियानमा सहभागी समानुपातिक उम्मेदवार मेम्बर लो तामाङले बर्तौलालाई “बेदागी र क्षमतावान युवा नेता“ को संज्ञा दिँदै प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सुर्य चिन्हमा मतदान गर्न आग्रह गरे । जिल्ला कमिटी सदस्य सागर पाण्डेले पनि एमालेको पक्षमा बलियो माहोल बनेको दाबी गरे । बर्तौलाले चुनियाँस्थित उर्गेन याङफिल लिङ बौद्ध गुम्बामा दर्शन गरी लामा गुरुबाट ‘वाङ’ समेत ग्रहण गरेका थिए । साँझ अबेरसम्म उनी मतदाताहरूसँगको छलफलमा व्यस्त थिए ।

कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य भगवती पुडासैनी, पूर्व उपाध्यक्ष पार्वती राना, जिल्ला कमिटी सदस्यहरू सानु थापा मगर, सागर पाण्डे, युवा परिचालन संयोजक बादल सिलवाल, स्थानीय अगुवा रमेश आचार्य, भोजराज बुढाथोकी लगायतको उपस्थिति रहेको थियो । बर्तौलाले आज साँझ अबेरसम्म पनि मतदाता भेटघाट गर्न थालेका छन् ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्