नेपाली कम्युनिस्ट पार्टी मकवानपुर २ नम्बर निर्वाचन क्षेत्रका उम्मेदवार लवशेर विष्टले आफू भाषणमा होइन, काममा विश्वास गर्ने नेता भएको बताएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कैलाश गाउँपालिका कमिटीको विस्तारित बैठकलाई २० माघमा कालिकाटारमा सम्बोधन गर्दै विष्टले भने, “बोलेर होइन, काम गरेर देखाउँछु, जनताको अपेक्षा पूरा गर्नु मेरो जिम्मेवारी हो ।”
विष्टले जनजीविकाका सवाल, रोजगारी, विकास र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पार्टीप्रति जनताको भरोसा अझ बलियो बनाउन सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर लाग्न आग्रह गरे। बैठकमा पार्टीको आगामी निर्वाचन रणनीति, संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल भएको थियो।
कार्यक्रमकी प्रमुख अतिथि नेकपाकी केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन कमिटी संयोजक कुमारी मोक्तानले देश र जनताको हितमा काम गर्ने एकमात्र पार्टी नेपाली कम्युनिस्ट पार्टी भएको दाबी गरिन्। उनले देशको समृद्धि र विद्यमान अस्थिरतालाई सही दिशामा लैजान नेकपाले मात्र नेतृत्व दिन सक्ने बताइन्। “नयाँ र पुरानो पार्टीको बहस होइन, विचार र समाजवादतर्फ देशलाई अघि बढाउने सवाल मुख्य हो, र त्यो क्षमता हाम्रो पार्टीसँग मात्र छ,” मोक्तानले भनिन् ।
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य किशोर बर्तौलाले विष्टले सबैभन्दा योग्य र काम गरेर देखाइसकेको उम्मेदवारका रूपमा परिचित रहेको बताए । नेकपाका प्रदेश कमिटी सदस्य कमल अर्याल, समानुपातिक उम्मेदवार मंगलसिं प्रजा, प्रदेश कमिटी सदस्य बालकुमार मल्लले पनि पार्टीको नीति, कार्यक्रम र उम्मेदवारको पक्षमा धारणा राखेका थिए।
गाउँ कमिटि संयोजक रवीन्द्र थिङको सभाध्यक्षतामा भएको बैठकमा नेकपा प्रदेश कमिटी सदस्य सीता पुलामी मगर, ठाकुरसिं थिङ लगायत पालिकाका नेताहरू सहभागी थिए । विस्तारित बैठकले आगामी निर्वाचनमा विष्टलाई विजयी बनाउन संगठनलाई थप सक्रिय बनाई जनपरिचालन तिब्र बनाउने निर्णय गरेको पार्टीका कैलाश सचिव सुरेश घिमिरेले बताए ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्