मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा जनताको घरदैलोमा २१ जना उम्मेदवारहरु आफ्ना एजेण्डा बोकेर पुगिरहेका छन् । निर्वाचन अधिकृतको कार्यालय, मकवानपुरका अनुसार १८ जना दलीय र ३ जना स्वतन्त्रले प्रतिस्पर्धामा भाग लिँदा २ जना मात्रै महिला चुनावी मैदानमा छन् ।
मनहरी गाउँपालिका, राक्सिराङ, कैलाश, इन्द्रसरोबर, भीमफेदी गाउँपालिका तथा थाहा नगरपालिका यही निर्वाचन क्षेत्रमा पर्छन् । मकवानपुरगढी गाउँपालिकाका ५, ६, ७ र ८ नम्बर वडा र प्रदेश मुकामसमेत रहेको हेटौंडा उपमहानगरपालिकाका १, ३, ११ र १९ नम्बर वडाबासी २ नम्बर क्षेत्रका मतदाता हुन् ।
२ नम्बर क्षेत्रमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच तीव्र चुनावी प्रतिस्पर्धा हुने देखिन्छ । एमालेबाट महेश बर्तौला, कांग्रेसबाट बुद्ध लामा, नेकपाबाट लवशेर विष्ट र रास्वपाबाट जेनजी उम्मेदवार प्रशान्त उप्रेती मैदानमा छन् । रास्वपाले २०७९ सालमा उम्मेदवार बनेका पराजुलीलाई यसपटक टिकट नदिएर मनहरी गाउँपालिकाका २५ वर्षीय युवक उप्रेतीलाई प्रतिस्पर्धी बनाएको हो । चुनावी मैदानमा रहेका विष्ट र लामा आफ्नो पक्षमा मतदातालाई ल्याउने रणनीतिमा छन् । बर्तौलालाई विरासत जोगाउन लागि परेका छन् । उनी आफ्नो मतको सुरक्षा गरे मात्रै जित्ने सोचमा छन् । उनी विघटित प्रतिनीधि सभाको यसै क्षेत्रका उमेद्वार हुन् । उप्रेती सबैको प्रतिस्पधामा मत आफ्नो पक्षमा आउने अवसरको पक्षमा देखिन्छन् ।
२०७९ को प्रतिनिधिसमा निर्वाचनमा यसै क्षेत्रबाट चार पटक सांसद भइसकेका विरोध खतिवडालाई हराएका एमालेका केन्द्रीय सदस्यसमेत रहेका ४३ वर्षीय बर्तौला दोस्रो पटक चुनावी प्रतिस्पर्धामा छन् । ५८ वर्षीय लामा कांग्रेस जिल्ला सभापति र ५४ वर्षीय विष्ट थाहा नगरपालिकाको निवर्तमान मेयर हुन् ।
२०७९ सालको स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ल्याएको मतका आधारमा हेर्दा भने बर्तौला, लामा र विष्ट गरी तीन उम्मेदवार मुख्य प्रतिस्पर्धी हुन् । यी तीनै जना उम्मेदवारको भूगोलको राजनीतिमा समानता भने एउटै छ, शालिन स्वभाव र ‘बेदाग’ स्वच्छ छवि । सरकारमा मन्त्री बन्ने अबसर आउँदासमेत प्रतिनिधिसभाको मुख्य सचेतक रोजेका बर्तौलाले व्यक्तिगत रुपमा कुनै आरोपको सामना गर्नुपरेन ।
हालसम्म राजकीय भूमिकामा नरहेका लामा र २०७४ मा थाहा नगरपालिकाको मेयर भइसकेका नेकपा माओवादी पृष्ठभूमिका विष्टले पनि जनतासामू ‘बेदाग’ छवि बनाउन सके । उम्मेदवारहरुको आ–आफ्नै प्रभाव क्षेत्र रहेको भूगोल छ । बर्तौलाको भीमफेदी, लामाको राक्सिराङ र विष्टको थाहा नगर उनीहरुका लागि धेरै भोट भएका क्षेत्र हुन् । आ–आफ्नो भूगोलमा राम्रो पकड बनाएका तीनै जनाबीच प्रतिस्पर्धा रोचक हुने अनुमान गर्न सकिन्छ ।
२०७९ को स्थानीय तहको प्रत्यक्ष र प्रतिनिधिसभाको समानुपातिक मतको आधारमा दलको सांगठनिक शक्तिमा एमाले पहिलो र कांग्रेस दोस्रो हैसियतमा छन् । तत्कालीन माओवादी (हाल नेकपा) भने तेस्रो शक्तिको रुपमा छ । निर्वाचन आयोगको तथ्यांकअनुसार एमालेले ६२ वटा वडामा गरेर ३६ हजार ८३६, कांग्रेसले ३४ हजार १६९ र तत्कालीन माओवादीले २२ हजार २३७ मत ल्याएका थिए ।
प्रतिनिधिसभामा समानुपातिकतर्फ एमालेले २८ हजार २ सय ४६, कांग्रेसले २१ हजार ५६० र माओवादीले १३ हजार १३ मत पाएको थियो । प्रतिनिधिसभाको समानुपातिकतर्फ नै रास्वपाले ११ हजार २९७, राप्रपाले ३ हजार ४१ र तत्कालीन नेकपा (एकीकृत समाजवादी)ले २ हजार ५९० मत पाएको थियो । गत निर्वाचनमा यस क्षेत्रबाट ८२ हजार २ सय ९६ सदर मत खसेको थियो ।
२०८२ फागुन २१ मा हुने निर्वाचनमा कुल मतदाता एक लाख ५६ हजार ७ सय ९९ छन् ।
प्रतिनिधिसभा निर्वाचन–०७९ मा एमालेबाट बर्तौलाले ३४ हजार ९ सय १६, कांग्रेस र माओवादीसहित गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडाले ३० हजार ३ सय ९६ र रास्वपाका भरत पराजुलीले १२ हजार ३९ मत पाएका थिए । यसैगरी राप्रपाका राजन मैनालीले २ हजार १९४, नेकपा (माले)का उद्धवप्रसाद अधिकारीले एक हजार ८०५ मत ल्याएका थिए ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्