प्रतिनिधिसभा निर्वाचन (फागुन २१) आउन केही दिन मात्र बाँकी छ । यसपटक स्थानीय तहमा चुनाव लडेकाहरू पनि एकैचोटि केन्द्रीय संसद्मा जान प्रतिस्पर्धामा छन्। यिनैमध्ये एक हुन्– मकवानपुर–२ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार लबशेर विष्ट । यस क्षेत्रका मुख्य ४ प्रतिस्पर्धी उम्मेदवारमा पर्छन् उनी । वि.सं. २०७४ सालमा भएको स्थानीय तहको निर्वाचन जित्दै विष्ट मकवानपुरको थाहा नगरपालिकाको मेयर भएका थिए । उनले पूरा कार्यकाल ५ वर्ष मेयर भएर उत्कृष्ट कार्यसम्पादन गरेका थिए।
संसदीय निर्वाचनमा उनको ‘इन्ट्री’सँगै यसपपालि मकवानपुर–२ को प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ। यस क्षेत्रमा यसपटक विष्टसिहत २१ उम्मेदवार प्रतिस्पर्धा गर्दै छन्। तर मुख्य प्रतिस्पर्धा यस क्षेत्रमा २०७९ को आम निर्वाचनमा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार विरोध खतिवडालाई हराउँदै सांसदमा निर्वाचित नेकपा एमालेका नेता महेशकुमार बर्तौला, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रशान्त उप्रेती र नेकपा उम्मेदवार विष्टबिच हुने आकलन छ।
विशेषगरी कांग्रेसका लामा, एमालेका बर्तौला र नेकपाका विष्ट तीन जना बेदागी नेताका रूपमा चिनिन्छन्। रास्वपाका उप्रेती भने राजनीतिमै नयाँ हुन्।

यसैबिच प्रस्तुत छ, केन्द्रीय सांसद बन्न कस्सिएका पूर्वमेयर विष्टसँग पत्रकार सुनिता विष्टले गरेको कुराकानीः
मकवानपुरमा चुनावी सरगर्मी बढिरहेको छ, कस्तो छ त तपाईंको तयारी ?
- हामी तीव्र गतिमा निर्वाचन प्रचारप्रसारमा जुटिरहेका छौँ । मकवानपुर–२ नम्बर क्षेत्र एकदमै ठुलो छ। ६२ वटा वडा छन्। विकट भूगोल छ । त्यसले गर्दा अहिले भेटघाट, घरदैलो जे भ्याइन्छ, त्यसमा हामी लागिराखेका छौँ।
स्थानीय सरकार प्रमुखको अनुभवपछि एकैचोटि प्रतिनिधिसभाको निर्वाचन लड्दै हुनुहुन्छ, कस्तो लागिहरेको छ ?
- म थाहा नगरपालिकामा २०७४ सालको पहिलो संस्थापक मेयर हुँ । यो ५ वर्षको मेरो कार्यसम्पादन, मूल्यांकन यो सबै हिसाबले अब्बल साबित भएको नगरपालिका हो । त्यसो भएको हुनाले अहिले म रहेको पार्टी नेपाली कम्युनिस्ट पार्टीले त्यही एउटा नागरिकसँग नजिक भएर कार्यसम्पादन, मूल्यांकन यी सबै चिजहरूलाई हेरेर नै मलाई उम्मेदवार बनाएको हो । त्यसो भएको हुनाले क्षेत्र नम्बर २ को उम्मेदवारीको हकमा धेरै ठुलो प्रतिस्पर्धा थिएन । सबैले तपाईं उठ्नुपर्छ, तपाईं अगाडि बढ्नुपर्छ भनेपछि म उम्मेदवार बनेको हुँ ।
तपाईंको मुख्य प्रतिस्पर्धी को हो जस्तो लाग्छ ?
- अहिले जेनजी आन्दोलनपश्चात् नागरिकको मतको अवस्था– हिजोको पार्टी संगठनअनुसार जस्तो मूल्यांकन गथ्र्यौँ, त्यस्तो छैन । विभिन्न ठाउँमा नयाँ पार्टी रास्वपामा नागरिकहरूको समर्थन देखिन्छ । कतिपय मतदाता अझै पुराना पार्टीहरू नेपाली कांग्रेस, नेकपा एमाले, तत्कालीन माओवादी, समाजवादी वा अन्य कम्युनिस्ट पार्टीसँग जोडिएका छन्। त्यसैगरी अन्य नयाँ पार्टी पनि छन् र हाम्रो क्षेत्रमा २१ वटा उम्मेदवार उठेका छन्। त्यसैले अहिले ठ्याक्कै आकलन गर्न कठिन छ । सबै ठाउँमा घुम्दा मैले पाएको अनुभूतिअनुसार नागरिकहरूले मलाई नै शुभकामना दिइरहेका छन् । तर २÷३ दिनको प्रचारप्रसारपछि मात्रै मेरो प्रतिस्पर्धी को हो ? मेरो स्थिति कहाँ छ भन्ने स्पष्ट हुनेछ ।
मकवानपुर–२ मा तपाईंको उम्मेदवारीले अरू उम्मेदवार डराइरहेका छन् । लबशेर विष्ट उठेपछि हामीलाई चुनौती छ भनेको सुनिन्छ, त्यस्तो हो र ?
- यो नागरिकले मूल्यांकन गर्ने कुरा हो । म घमण्ड गरेर मैले जित्छु, म पहिलो पोजिसनमा छु भन्न सक्दिनँ । हामी २१ जना उम्मेदवार छौँ, सबैले आआफ्ना कुरा नागरिकसमक्ष पु¥याइरहेका छौँ । नागरिकहरू आफैँ एकदम स्पष्ट मूल्यांकन गर्ने तहमा छन्। मैले भनिसकेको छु–मलाई नचिनेका ठाउँका नागरिकले पनि मेरो प्रचार गरेर समर्थन गरिरहनुभएको छ। त्यसका लागि मैले धन्यवाद दिएको छु। सामाजिक सञ्जालमा मेरो अनुहार देख्दा ‘लबशेर विष्ट असल व्यक्ति हुन्, उहाँलाई भोट दिनुपर्छ’ भन्ने धारणा पनि आएको छ। त्यसैले नागरिकहरू सही निर्णय गर्ने क्षमता राख्छन् । प्रचारका क्रममा मैले मेरा गतिविधि र योजनाबारे जानकारी दिइरहेको छु । म घमण्ड गरेर भोट माग्दिनँ तर जनमुखी काम गर्ने, जनताका पक्षमा काम गर्ने मेरो प्रतिबद्धता हेरेर नागरिकले मलाई एक भोट दिन सक्छन्।
अघिल्लो चुनावमा माओवादी–कांग्रेस गठबन्धनलाई एमालेले ४ हजार मतान्तरले हराएको क्षेत्र हो यो । तपाईंलाई चुनौती त छ नि ?
- सबैले त्यो गठबन्धन मन पराउँथे भन्ने होइन। जेनजी आन्दोलनले पनि देखाएको कुरा के हो भने पुरानो गठबन्धन संस्कृति नागरिकलाई मन परेको छैन। जेनजी आन्दोलनमा सहभागी नागरिकहरूमा एमाले, तत्कालीन माओवादी केन्द्र र नेपाली कम्युनिस्ट पार्टी सबैका मान्छे छन्। हिजोको गठबन्धन संस्कृति नागरिकले मन नपराएपछि अहिले सबै दल सिंगल–सिंगल चुनावमा उठेका छन्। हिजोको गठबन्धनमा सबै मत साझा उम्मेदवारलाई नै आउँथ्यो भने एमालेले जित्न सक्ने अवस्था थिएन।
त्यसो त यहाँ रास्वपाको चर्चा बढेको देखिन्छ । उसले जेनजी उम्मेदवार उठाएको छ। कतिको चुनौती देख्नुहुन्छ ?
- त्यस्तो हैन, अहिले चर्चा सबैको छ। पुराना दलहरूको पनि राम्रै चर्चा छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पनि राम्रो चर्चा छ । अरू उम्मेदवारहरूको पनि आफ्नै चर्चा छ। त्यसैले अहिले यही नै ठुलो चुनौती भनेर भन्न सकिने अवस्था छैन। सबैले आआफ्ना कुरा नागरिकसमक्ष पु¥याइरहेका छन्। नागरिकहरूले अहिले अन्तिम निर्णय वा ‘माइन्ड मेकअप’ गरिसकेको अवस्था छैन। मूल्यांकन जारी छ ।
मकवानुपर–२ मा २१ उम्मेदवार छन्, तपाईंलाई नै मत किन दिने ?
- मैले भनेँ नि– म विभिन्न ठाउँमा गएर नागरिकसँग संवाद गरिरहेको छु । थाहा नगरपालिकामा पाँच वर्ष काम गरेको अनुभवले मलाई नागरिकसँग नजिक बनाएको छ। नागरिकको चाहना सरल छ– समस्या सुन्ने, नेतृत्व दिने, सानाठुला सबै समस्यामा सहयोग गर्ने नेता होस्। नेता निष्ठावान् र इमानदार होस्, जनताको आवाज सुन्ने होस्।
मैले थाहा नगरपालिकामा प्रमुख रहँदा त्यही सिद्धान्तअनुसार काम गरेको छु। यस क्षेत्र नम्बर २ मा थाहा नगरपालिकासँगको सम्बन्ध र सामाजिक सञ्जालले गर्दा धेरैले मेरो नाम सुन्नुभएको छ । धेरै ठाउँमा मेरो सम्बन्ध छ। मसँग नागरिकलाई मत दिन प्रेरित गर्ने क्षमता पनि छ । मेरो दाबी छ– म इमान्दार छु र जनपक्षीय, जनमुखी काम गर्छु। यही आधारमा नागरिकले मलाई मतदान गर्नुपर्छ।
अहिले क्षेत्र नम्बर २ को मुख्य समस्यामध्ये लागुऔषध कारोबार पनि एक हो। अवैध लागुऔषध खेतीमा संलग्न हुँदा यहाँका धेरै नागरिक कारागारमा छन्। यस्तै मध्यवर्ती क्षेत्रका समस्या, लालपुर्जा नहुनुजस्ता समस्या पनि छन्। यसलाई सम्बोधन गर्ने योजना तपाईंसँग के छ ?
- पक्कै पनि यी समस्या समाधान गर्ने नै मेरो मुख्य एजेन्डा हुन्। वर्षौँदेखि ८ धुर, १० धुर जग्गामा घर बनाएर बसोबास गरिरहेका स्थानीयसँग अझै लालपुर्जा छैन भन्ने गुनासो छ। हामीले आफ्नै सम्पत्ति हो भनेर दाबी गर्न पाउने अवस्था छैन भन्ने उहाँहरूको मुख्य माग छ । मैले उहाँहरूलाई के पनि स्पष्ट पारेको छु भने सरकारले घर निर्माणमा कुनै अवरोध गरेन, आधारभूत पूर्वाधारका लागि बजेटसमेत खर्च भइसकेको छ। तर आवश्यक कानुनी प्रक्रिया र अन्य कारणले विषय कतै अड्किएको देखिन्छ। यसबारे विस्तृत अध्ययन गर्न बाँकी छ, किनकि म प्रतिनिधिसभा सदस्यका रूपमा पहिलोपटक उम्मेदवार बनेको हुँ। नगर प्रमुखका रूपमा कार्यरत रहँदा भूमिसम्बन्धी यस्ता समस्यामा हामीले नागरिकका पक्षमा आवाज उठाउँदै सिफारिस गरेका थियौँ। अब प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएमा यस विषयमा कानुनी अड्चन वा अन्य समस्या जेजस्ता छन्, ती समाधानका लागि संसद्मा आवाज उठाउने प्रतिबद्धता मैले व्यक्त गरेको छु ।
अन्य एजेन्डा के–के छन् ?
- मैले अहिले नागरिकसँग छलफल गर्दा विकास र निर्माणको सन्दर्भमा मेरो एजेन्डा भन्दा पनि उनीहरूको आवश्यकता महसुस भएको छ । नागरिकको आवश्यकता नै विकासको एजेन्डा बन्नुपर्छ । हेटौँडा क्षेत्रमा आउँदा नदी तटबन्ध र अव्यवस्थित बसोबासी, भूमिहीन समस्याहरू देखिन्छन् । मनहरी क्षेत्रमा पनि नदी तटबन्धनका साथै मध्यवर्ती क्षेत्रका समस्या छन्। माथिल्लो भूगोलमा जाँदा बाटो, खानेपानी र आधारभूत पूर्वाधारका चुनौतीहरू देखिन्छन्। लगभग सबै क्षेत्रमा विकासका समस्या समान छन्, अव्यवस्थित बसोबासी र भूमिहीन समस्याबाहेक। यी सबै एजेन्डा मैले मेरो प्रतिबद्धता पत्रमा समेटेको छु र त्यसको कार्यान्वयनका लागि नेतृत्व गर्ने प्रतिबद्धता जनाएको छु ।
मकवानपुरको उत्तरी र पश्चिमी भाग क्षेत्र नम्बर २ मै पर्छ । यहाँका विकट बस्तीका लागि तँपाईंका योजना के–के छन् ?
- पक्कै पनि राक्सिराङ र कैलाश गाउँपालिकामा मैले सबैभन्दा धेरै विकट बस्ती देखेको छु । यी गाउँपालिकामा नागरिकको सबैभन्दा ठुलो माग राम्रो खालको सडकको छ । हालका सडक पूर्ण रूपमा स्तरोन्नति भइसकेका छैनन्। थाहा नगरपालिकाको अनुभवले सिकाएको कुरा के हो भने सबभन्दा पहिले सडक बाटो बन्नुपर्छ। त्यसपछि अन्य विकास संरचना र पूर्वाधार निर्माण सहज हुन्छ। नागरिकको पहुँच सहरसम्म सुनिश्चित गर्नु पनि आवश्यक छ। त्यसैले यी दुई गाउँपालिकामा सबभन्दा प्राथमिक आवश्यकता स्तरीय सडक हो। त्यसपछि शिक्षा, स्वास्थ्य, पर्यटन र अन्य पूर्वाधार विकासका काम अघि बढाउन सकिन्छ।
धन्यवाद ।

















































पालिका प्रेस 























प्रतिक्रिया दिनुहोस्