तरकारी बालमीमा प्रयोग गरिने विषादीको बारेमा किसानको सचेतनास्तर मकवानपुरका १० पालिकामध्ये इन्द्रसरोवर गाउँपालिका ज्यादै कमजोर रहेको पाइएको छ । राष्ट्रिय कृषि गणना, २०७८ अन्तर्गतको सामुदायिक प्रतिवेदन अनुसार विषादी प्रयोगको बारेमा इन्द्रसरोवरका किसानको सचेतनास्तर शुन्य रहेको पाइएको छ । २ वैशाखमा सार्वजनिक सामुदायिक प्रतिवेदन अनुसार इन्द्रसरोवरका शतप्रतिशत किसान आंशिक सचेत रहेको तथ्याङ छ ।

थाहा नगरपालिकाका किसान भने जिल्लामै सबैभन्दा बढि सचेत रहेको तथ्याङ्कले देखाएको छ । थाहानगरका ६६ प्रतिशत किसान विषादी प्रयोगमा सचेत रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । यो जिल्लामै सबैभन्दा बढि प्रतिशत हो । थाहामा ८.३ प्रतिशत आंशिक सचेत र २५ प्रतिशत किसान भने अझै सचेत नरहेको तथ्याङ्कले देखाएको छ । समग्र मकवानपुरका भने जम्मा ३३ प्रतिशत किसान मात्र सचेत रहेको तथ्याङ्कले देखाएको छ । जिल्लामा आंशिक सचेत ५४.९ प्रतिशत र १२.१ प्रतिशत किसान सचेत नभएको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय तथ्यांक कार्यालयले ६ वैशाख २०७९ देखि १९ जेठ २०७९ सम्म ४५ दिन ‘फिल्ड’ मै पुगेर कृषि गणना गरेको थियो । सोही समयमा गणना क्षेत्रभित्र पर्ने वडाका अध्यक्ष वा सचिवमार्फत अन्तरर्वार्ता विधिबाट सामुदायिक प्रश्नावली भराएर तथ्यांक संकलन गरिएको थियो ।

कैलाश गाउँपालिकाका ११.१ प्रतिशत सचेत, ७७ प्रतिशत आंशिक सचेत र ११.१ प्रतिशत सचेत नभएको तथ्याङ्क छ । राक्सिराङमा ३३ प्रतिशत सचेत, ५५.६ प्रतिशत आंशिक सचेत र ११.१ प्रतिशत सचेत नभएको तथ्याङ्क छ । मनहरीका १४.३ प्रतिशत सचेत, ४२.९ आंशिक सचेत र ४२.९ प्रतिशत सचेत नभएको पाइएको छ । हेटौंडा उपमहानगरपालिकाका ५३.८ प्रतिशत किसान सचेत छन् भने ३८.५ प्रतिशत आंशिक सचेत र ७.७ प्रतिशत किसान सचेत नभएको पाइएको छ । भीमफेदीका ११.१ प्रतिशत सचेत छन् भने ८८.९ प्रतिशत आंशिक सचेत र सचेत नभएका किसान नै नरहेको तथ्याङ्क छ ।

मकवानपुरगढी गाउँपालिकाका ३७.५ प्रतिशत किसान सचेत छन् भने ६२.५ प्रतिशत किसान आंशिक सचेत र सचेत नभएका किसान नै छैनन् । बकैयाका २० प्रतिशत सचेत, ६० प्रतिशत आंशिक सचेत र २० प्रतिशत किसान सचेत नै नभएको तथ्याङ्क छ । बाग्मती गाउँपालिकाका ४४.४ प्रतिशत किसान सचेत रहेका छन् भने ५५.६ प्रतिशत आंशिक र सचेत नै नभएको किसान पालिका क्षेत्रमा नरहेको तथ्याङ्क प्रतिवेदन मार्फत सार्वजनिक गरिएको छ ।

कृषि गणनाको सामुदायिक प्रतिवेदन अनुसार जिल्लामा कृषि कामदारका रुपमा काम गर्ने महिला पुरुषले न्यूनतम समान ज्याला समेत पाउने नगरेको सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ । जिल्लाको १० पालिकामा गरिएको सर्वेक्षणका आधारमा महिला कामदारले औषत ५ सय ८६ पुरुषले ७ सय ३४ पाउने गरेको तथ्याङ्क छ । सर्वेक्षण अनुसार हेटौंडामा सबैभन्दा बढि दैनिक औषत ज्याला महिलाले ७ सय ६९ र पुरुषले ९ सय ३१ पाउने गरेका छन् । सबैभन्दा कम कैलाश गाउँपालिकामा महिलाले ४ सय ६७ र पुरुषले ५ सय २२ पाउने गरेका छन् ।

राक्सिराङमा महिलाले ५ सय ३३ र पुरुषले ५ सय ८९ पाउने गरेको पाइएको छ । थाहा नगरपालिकाका महिलाहरुले ५ सय ३५ रुपियाँ पाउने गरेका छन् भने पुरुषले ७ सय २५ रुपियाँ औषत ज्याला पाउने प्रतिवेदनमा उल्लेख छ । इन्द्रसरोवरका महिलाले ५ सय ८० र पुरुषले ६ सय ६० रुपियाँ पाउने गरेका छन् । मनहरीका महिलाले ६ सय र पुरुषले ७ सय ५७ रुपियाा, भीमफेदीमा महिलाले ६ सय ४४ र पुरुषले ८ सय, मकवानपुरगढीका महिलाले ७ सय र पुरुषले ८ सय ३८ रुपियाँ बकैयाका महिलले ४ सय ७७ र पुरुषले ७ सय ८५ तथा बागमती गाउँपालिकाका महिलाले ५ सय ११ र महिलाले ६ सय २२ रुपियाँ औषत ज्याला पाउने गरेको सार्वजनिक प्रतिवेदनमा लेखिएको छ ।

मकवानपुरमा कृषकको बालीमा नोक्सानी पु¥याउने प्रमुख जनावरहरुमा बाँदर र दुम्सी अग्रस्थानमा रहेको तथ्याङ्कले देखाएको छ । यी दुई पश्चात् क्रमशः स्याल, बँदेल, लोखर्के, मृग, बन बिरालो, बाघ/चितुवा, हात्ती र सबैभन्दा कम नोक्शासन गर्ने जनावर भालु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा पनि नोक्शान पु¥याउने जनावरहरुमा बाँदर, बँदेल त्यसपछि बन बिरालो र दुम्सी रहेका छन् । इन्द्रसरोवरमा स्याल, बाघ/चितुवा, मृग पनि बाली नोक्सानी गर्ने जनावरहरु रहेको तथ्याङ्कमा छ । थाहा नगरपालिकामा बाँदर अत्याधिक नोक्शासनी पु¥याउने जनावरमा छ भने दोस्रो दुम्सी र तेस्रोमा लोखर्के रहेको छ । त्यसपछि क्रमशः मृग र बँदेल छन् । मकवानपुरका १० वटा पालिकामा नोक्शासानी पु¥याउने प्रमुख जनावर बाँदर हुँदा मनहरी गाउँपालिकामा भने बँदेल रहेको तथ्याङ्कले देखाएको छ ।

कृषि कार्यबाट निश्किएको फोहोर व्यवस्थापनको मुख्य किसिममा मकवानपुरमा सबैभन्दा बढि कम्पोष्ट बनाएर व्यवस्थापन गर्ने गरिएको प्रतिवेदनमा उल्लेख छ । दोस्रोमा जलाएर त्यसपछि गाडेर व्यवस्थापन गर्ने र क्रमशः कुनैपनि व्यवस्थापन गर्ने नगरिएको, फोहोर व्यवस्थापकलाई पठाउने र अन्य तरिकाबाट व्यवस्थापन गर्ने तथ्याङ्क छ । जिल्लाको १० स्थानीय तहमध्ये थाहा नगरपालिकामा भने कृषिजन्य फोहोर व्यवस्थापनका लागि सबैभन्दा बढि जलाएर गर्ने गरेको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । त्यसपछि दोस्रोमा गाडेर र क्रमशः फोहोर व्यवस्थापकलाई पठाएर गर्ने गरिएको छ भने न्यून मात्रामा कम्पोष्ट बनाउने उल्लेख छ । इन्द्रसरोवर गाउँपालिकामा भने कृषिजन्य फोहोर कम्पोष्ट बनाएर व्यवस्थापन गर्ने उल्लेख छ । त्यसपछि गाड्ने र जलाउने गरेको तथ्याङ्क छ ।

मकवानपुरमा पशु तथा पशुपंक्षीसम्बन्धी किसानहरुले जानकारी पाउने प्रमुख माध्यम अनुभवी कृषक तथा विज्ञ रहेको पाइएको छ । त्यसपश्चात क्रमशः टेलिफोनबाट, रेडियो, सरकारी कृषि तथा पशु सेवा केन्द्रबाट, वेबसाइट/इन्टरनेट, टेलिभिजन, पत्रपत्रिका र मोबाइल एपबाट थाहा पाउने गरेको तथ्याङ्क छ । थाहा नगरपालिकाका किसानले सबैभन्दा बढि टेलिफोन र टेलिभिजनबाट जानकारी पाउने गरेका छन् भने आमसञ्चारको माध्यम मार्फत क्रमशः रेडियो, इन्टरनेट, वेबसाइट, पत्रपत्रिका तथा मोबाइल एपबाट थाहा पाउने गरेका छन् । दोस्रोमा अनुभवी किसानबाट थाहा पाउने र सरकारी कृषि तथा पशु सेवा केन्द्रबाट थाहा पाउने किसानको अनुपात भने ज्यादै कमजोर छ । इन्द्रसरोवरमा किसानले टोलीफोन र कृषि तथा पशु सेवा केन्द्रबाट जानकारी पाउने गरेका छन् । त्यसपछि अनुभवी किसान र विज्ञबाट थाहा पाउने गरेका छन् भने इन्द्रसरोवरमा आम सञ्चारको माध्यमबाट जानकारी पाउने कृषकहरु न्यून छन् ।

मकवानपुरमा छाडा (सामुदायिक) कुकुरको संख्या १६ हजार ६५ रहेको तथ्याङ्कले देखाएको छ । यो संख्यालाई प्रतिवेदनमा अनुमानित भनिएको छ । घरपालुवा कुकुरको संख्या भने ८ हजार ३ सय ४१ रहेको अनुमान सार्वजनिक गरिएको छ । जिल्लाभरमा छाडा चौपाय २ सय ५२ रहेका छन् । जिल्लाको ६ पालिकामा छाडा पशुको संख्या शुन्य रहेको छ भने सबैभन्दा बढि हेटौंडामा १ सय ३०, थाहामा ६५, राक्सिराङमा ५५ र मनहरीमा २ वटा रहेको तथ्याङ्क छ ।

यसैबीच विगत ५ वर्षमा कृषि क्षेत्रमा सबैभन्दा बढि प्रमुख विपदको घटना क्रमशः बाढी, पहिरो, हावाहुरी, रोगकिराको प्रकोप, तुसारो र शीतलहर रहेको तथ्याङ्कमा उल्लेख छ । कृषि कर्मका लागि मकवानपुरको इन्द्रसरोवरको मुख्य समस्या बाढी र पहिरो रहेको छ । थाहा नगरपालिकामा पहिरो, कैलाशमा बाढी र पहिरो, राक्सिराङ, मनहरी, हेटौंडा, मकवानपुरगढी, बागमतीमा बाढी तथा बकैया गाउँपालिकामा बाढी र पहिरो तथा भीमफेदीमा पहिरोबाट बढि क्षति भएको तथ्याङ्क रहेको छ ।

सुरजकुमार भुजेल
surajkhabar@gmail.com
थप जानकारी