मौसम परिवर्तन हुनासाथ रुघाखोकी, भाइरल इन्फेक्सनजस्ता समस्या देखिन्छन्। यसलाई मौसमी रोगका रुपमा लिन सकिन्छ। तर, गर्मी मौसममा पनि चिसो लाग्छ अथवा चिसो महसुस हुन्छ भने त्यसलाई सामान्य रुपमा लिन हुँदैन। यस्तो महसुस भएको खण्डमा बेवास्ता नगर्न चिकित्सकहरुले सुझाव दिएका छन्।

मदरहुड हस्पिटल, पुणेका बालरोग विशेषज्ञ तथा नवजात रोग विशेषज्ञ डा. अतुल पाल्वे यसलाई असामान्य अवस्था भन्दै यो कुनै रोगका लक्षण हुनसक्ने बताउँछन्।

गर्मीमा जाडो लाग्नु निम्न रोगको लक्षण हुनसक्छ :

रक्तअल्पता

गर्मीमा पनि चिसो महसुस भएमा यो रक्तअल्पताको लक्षण हुन सक्छ। शरीरमा रातो रक्त कोसिका वा हेमोग्लोबिनको कमी भएका मानिसहरू यसबाट ग्रस्त हुन्छन्। रक्तअल्पताको कारण पत्ता लगाउन र यसको उपचार गर्नु आवश्यक छ। लामो समयसम्म रक्तअल्पता कायम रहेको खण्डमा मानिसको ज्यान जान सक्छ। यदि गर्मी मौसममा पनि जाडो महसुस भैरहेको छ भने परीक्षण गर्नु पर्ने हुन्छ।

एनोरेक्सिया अर्थात् अति कम तौल

धेरै मानिसहरू चाँडै तौल घटाउन अत्यधिक डाइटिङ गर्छन्। यो शरीरका लागि हानिकारक मानिन्छ। अत्यधिक डाइटिङ गर्दा मानिसमा भोकको मात्रा घट्दै जान्छ। कम भोक लाग्दा एनोरेक्सिया नर्वोसाको समस्या पनि हुन सक्छ। यस्तो अवस्थामा मुटुको धड्कन बढेर जाने गर्छ। त्यस्तै, शरीर दुख्ने, थकान महसुस हुनेलगायत समस्या पनि देखिन्छ। यस्ता मानिसलाई थकान, निद्रामा समस्या, शारीरिक सम्बन्धमा अनिच्छा, उच्च रक्तचापलगायत समस्या पनि देखिन्छन्।

एनोरेक्सियाका कारण शरीरको बोसो धेरै घट्छ जसका कारण गर्मीमा पनि मानिसलाई चिसो महसुस हुन्छ। एनोरेक्सिया भएमा गर्मीमा चिसो महसुस हुनुका साथै पेट दुख्ने, कब्जियत लगायतका समस्या देखा पर्छन्।

हाइपोथायराइड
गर्मीमा पनि चिसो महसुस हुनु हाइपोथाइराइडिज्मको लक्षण हुनसक्छ। हाइपोथायराइड हुँदा थाइराइड हर्मोनको उत्पादन बन्द हुन्छ। जसका कारण मानिसलाई चिसो महसुस हुन्छ। चिसो महसुस हुनुका साथै हाइपोथाइराइड रोगीलाई थकान, तनाव, डिप्रेसन जस्ता समस्याले पनि सताउने गर्छ।

गर्मीमा चिसो लागेमा के गर्ने?
यदि गर्मीमा धेरै चिसो महसुस गर्दै हुनुहुन्छ भने पहिले चिकित्सकसँग जाँच गराउनुहोस्। आफ्नो जीवनशैलीमा पनि केही परिवर्तन गर्नु जरुरी छ।

शरीरमा पानीको कमी हुन नदिने
शरीरलाई हाइड्रेटेड राख्नुहोस्। यसका लागि दिनभरि प्रशस्त पानी पिउनुहोस्। तिर्खा नलागे पनि पानी पिउने बानीको विकास गर्नु पर्छ। शरीरमा पानीको कमी हुँदा मुख सुख्खा हुने, चक्कर लाग्ने, पिसाब गर्दा जलन हुने जस्ता समस्या हुन सक्छ।

स्वस्थ आहार
स्वस्थ आहारले थुप्रै रोगको जोखिमबाट बचाउँछ। गर्मीमा हुने चिसो र यसबाट लाग्ने रोगबाट पनि स्वस्थ तथा सन्तुलित आहारले जोगाउन सक्छ। स्वस्थ आहारले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र गर्मीमा पनि चिसोबाट हुने संक्रमणबाट राहत दिन्छ।

बच्चालाई पनि यस्तो समस्या हुनसक्छ। उनीहरुको विशेष ख्याल गर्नुपर्छ। बालबालिकालाई चिसोबाट जोगाउन इन्फ्लुएन्जा र निमोनियाविरुद्धको खोप लगाउनुपर्छ। उनीहरुको खानपान र सरसफाइमा पनि विशेष ध्यान दिनुपर्छ।

(दैनिक भास्करबाट)

पालिका प्रेस
थप जानकारी