राक्सिराङ गाउँपालिका वडा नं १ र २ का गाउँबस्तीहरुमा पाँच बर्षदेखि विद्युत महसुलका लागि मिटर रिडिङ नभएको उपभोक्ताहरुले आरोप लगाएका छन् । कोभिड १९ को प्रकोपपछि गाउँमा मिटर रिडरहरु नगएकाले एकैपटक ठूलो परिमाणको बक्यौता भुक्तानी गर्नुपर्ने त्रासका कारण उपभोक्ता चिन्तित छन् ।

२ नम्बर वडा कार्यालय कुँडुलेमा राक्सिराङ गाउँपालिकाले आयोजना गरेको सार्बजनिक सुनुवाई कार्यक्रममा उपभोक्ताहरुले यस्तो पीडा पोखेका हुन् । ‘अब एकैचोटी मिटर रिडर आएर बिजुलीको बील निकाल्दा हामी त तिर्न नसक्ने अबस्थामा पुग्छौँ’, १ नं वडाका उपभोक्ता सुवास लोले भने–‘जरिबाना, हर्जाना सबै जोडेर आउँदा घरबारी नै बेच्नुपर्ने अबस्था आउने हो कि भन्ने पीर भयो ।’

बिजुली जडान भएको २ बर्षसम्म नियमित रुपमा मिटर रिडरहरु आएर मिटर रिडिङ गरेको भएपनि कोभिड १९ प्रकोप यता मिटर रिडरहरु नआएको बताइएको छ । सार्बजनिक सुनुवाई कार्यक्रममै अन्य उपभोक्ताहरुले पनि १० बर्षदेखि ट्रान्सफर्मर जोडिए पनि विद्युत प्रबाह नगरिएको गुनासो समेत सुनाउन भ्याए । ‘बल्ल बल्ल लडाइँ लडेर ट्रान्सफर्मर ल्याइयो’, निवर्तमान वडाध्यक्ष सूर्यबहादुर मुक्तानले भने’–अहिलेसम्म जडान हुन भने सकेन ।’

एकपछि अर्काे गर्दै बिजुलीका समस्याहरु दिनानुदिन बढ्दै गइरहेपनि नेपाल विद्युत प्राधिकरणले बेवास्ता गरेको आरोप उपभोक्ताहरुले लगाएका छन् । सार्बजनिक सुनुवाई कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले राक्सिराङ गाउँपालिकामै विद्युत प्राधिकरणको शाखा कार्यालय राख्नका लागि प्रयत्न भइरहेको बताए । उनले विद्युत प्राधिकरणको कार्यालय नै राक्सिराङमा राख्न सकिए उपभोक्ताहरुका समस्या स्थानीय स्तरमै समाधान हुने बताए ।
ग्रेटर ताम्सालिङ मिडिया प्रालिले समन्वय र सहजीकरण गरेको कार्यक्रममा उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्ताैला, वडाध्यक्षहरु बाबिराम मुक्तान, बुद्धराम मुक्तान, उत्तम वाइबा लगायतले उठेका प्रश्नहरुबारे जबाफ दिनु भएको थियो । सहभागीहरुले स्थानीय शिक्षा, स्वास्थ्य, सडक लगायतका बिषयहरुमा कार्यक्रममा प्रश्नहरु उठाइएका थिए ।

कार्यक्रमको सहजीकरण जयराम मुक्तानले गरेका थिए भने अनुसन्धानात्मक प्रतिवेदन अर्का सञ्चारकर्मी ज्ञानेन्द्र तामाङले प्रस्तुत गरे ।

पालिका प्रेस
थप जानकारी