मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले ४ वर्षमा आफ्नो पालिकाको ६ हजार २०७ व्यक्तिगत घटना दर्ता गरेको छ । गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले उक्त तथ्याङ्कको अभिलेख व्यवस्थापन गर्दै आएको ।

विगत चार वर्षको तथ्याङ्क अनुसार सबैैभन्दा बढि वि.सं. २०७८ सालमा १ हजार ९०४ व्यक्तिगत घटना दर्ता भएको छ । सबैभन्दा कम २०७७ सालमा १ हजार ३१२ व्यक्तिगत घटना दर्ता भएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाकी एमआइएस अपरेटर मञ्जरी बलामीले जानकारी दिइन् । त्यसैगरी २०७९ मा १ हजार ५८९ र वि.सं. २०८० सालमा १ हजार ४०२ व्यक्तिगत घटना दर्ता भएको अभिलेख शाखासंग रहेको छ ।

चार वर्षमा ९३ परिवारले गाउँ छोडे

इन्द्रसरोवर गाउँपालिकामा बसाई सरेर आउनेकोको तुलनामा जानेको संख्या झण्डै ५ गुणा बढि छ । पर्यटकीय पालिकाको रुपमा परिचय बनाएको इन्द्रसरोवर गाउँपालिकामा २०७७ देखि २०८० सालसम्म ९३ परिवार बसाईसरी गएका छन् । यहि अवधिमा इन्द्रसरोवर गाउँपालिकामा जम्मा १९ परिवार मात्र बसाईसरेर आएका छन् ।

५ वटा वडा रहेको इन्द्रसरोवरबाट सबैभन्दा बढि १ नम्बर वडाबाट २५ परिवार बसाइसरी गएका छन् । दोस्रोमा ३ नम्बर वडाबाट २४ परिवार बसाइसरी गएका छन् भने २ नम्बरबाट १९ परिवार बसाईसरी अन्यत्र गएको अभिलेख रहेको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख समेत रहेकी बलामीले जानकारी दिइन् । त्यसैगरी वडा नम्बर ४ बाट १३ र ५ नम्बर वडाबाट सबैभन्दा कम १२ परिवार बसाइसरी गएको पालिकाको अभिलेख छ ।

बसराइसरी आउनेमा २ र ३ नम्बर वडामा ७/७ परिवार रहेका छन् । १ र ४ नम्बर वडामा २/२ परिवार बसाइसरी आएका छन् भने ५ नम्बर वडामा जम्मा १ परिवार मात्र बसाइसरी आएका छन् । इन्द्रसरोवरबाट वि.सं. २०७८ सालमा सबैभन्दा बढि ३१ परिवार बसाइसरी गएका छन् । २०७७ र २०८० सालमा १७/१७ परिवार बसाइसरी गएका छन् भने वि.सं. २०७९ सालमा २८ परिवार बसाइसरी गएको शाखा प्रमुख मञ्जरी बलामीको भनाइ छ । पालिकामा २०७८ र २०८० सालमा ८/८ परिवार बसाइसरी आएका छन् भने २०७९ मा २ र २०७७ सालमा १ परिवार बसाईसरी आएका छन् ।

वर्षमै १९ जोडीसम्मको सम्बन्ध विच्छेद

इन्द्रसरोवर गाउँपालिकामा एकै वर्ष १९ जोडीको सम्बन्ध विच्छेद भएको तथ्याङ्क छ । विगत चार वर्षमा इन्द्रसरोवर गाउँपालिकामा ५३ जोडीको सम्बन्ध विच्छेद भएको छ । तथ्याङ्क अनुसार वि.सं.२०७९ र २०८० मा १९/१९ जोडीको सम्बन्ध विच्छेद भएको छ । २०७८ मा १२ र २०७७ मा जम्मा ३ जोडीको मात्र सम्बन्ध विच्छेद भएको पालिकाले जनाएको छ । शुरुको वर्ष वि.सं. २०७७ को तुलनामा वि.सं. २०८० सम्म आइपुग्दा ६ गुना बढि सम्बन्ध विच्छेदको घटना हुने गरेको अभिलेखले देखाएको छ ।

यो तथ्याङ्क अनुसार पालिकामा विवाह दर्ता भएका संख्याको आधारमा हेर्ने हो भने चार वर्षमा ६.२२० प्रतिशत जोडीको सम्बन्ध विच्छेद हुने गरेको छ । ४ वर्षमा इन्द्रसरोवरमा ८ सय ५२ जोडिको विवाह दर्ता भएको छ । वार्षिक विवाह दर्ताको तुलनामा सम्बन्ध विच्छेदको घटना वि.सं. २०७९ सालमा सबैभन्दा बढि छ । यो वर्ष १ सय ९४ जोडिले विवाह दर्ता गराएकोमा १९ जोडीले अर्थात ९.७९३ प्रतिशतको सम्बन्ध विच्छेद गरेका छन् । २०८० मा विवाह दर्ता संख्याको आधार मान्दा ९.४५२ प्रतिशत, २०७८ मा ४.०२६ र वि.सं. २०७७ सालमा १.८८६ प्रतिशतको सम्बन्ध विच्छेद भएको व्यक्तिगत घटना दर्तामा अभिलेख छ ।

वर्षैपिच्छे जन्मदर घट्दै

इन्द्रसरोपर गाउँपालिकामा वार्र्षिक तुलनात्मक तालिका हेर्दा वर्षैपिच्छे जन्मदर घट्दै गएको देखिएको छ । वि.सं. २०७७ सालमा ३ सय ७१ को जन्मदर्ता भएको पालिकामा २०७८ मा ५ सय ४०, वि.सं. २०७९ मा ५ सय १ र वि.सं. २०८० सालमा ३ सय ९४ को मात्र जन्मदर्ता भएको छ । जन्मिएका मध्ये पुरुष ९ सय ८ र महिला ८ सय ९८ जना रहेका छन् ।

वडा नम्बर १ मा महिला १ सय ६७, पुरुष १८१ जना, २ नम्बर वडामा महिला ३ सय पुरुष ३ सय १, ३ नम्बर वडामा महिला २ सय २ पुरुष १ सय ८४, जन्मिएका छन भने वडा नम्बर ४ मा महिला १ सय ३ र पुरुष १ सय ८ तथा ५ नम्बर वडामा महिला १ सय २६ र पुरुष १ सय ३४ जन्मिएका छन् ।

यसैबीच २०७७ देखि २०८० सालसम्म इन्द्रसरोवर ७ सय ३३ जनाको मृत्यु भएको छ । मृत्यू हुनेमा पुरुष ४ सय ६ र महिना ३ सय २७ जना रहेका छन् । यो संख्या महिलाको तुलनामा ७९ जनाले पुरुष बढि हो । मृत्यू पनि अन्य वर्षको तुलनामा २०७८ सालमै सबैभन्दा बढि छ । वि.स.. २०७८ मा २ सय १८, जनाको मृत्यू भएको छ भने २०७७ मा १ सय ८६, २०७९ मा १ सय ५७ र २०८० मा १ सय ७२ जनाको मृत्यू दर्ता भएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख मञ्जरी बलामीले जानकारी दिइन् ।

साविकका मार्खु, कुलेखानी, सिस्नेरी र फाखेल गाविस एकीकृत गरी बनेको पालिकाको वि.संं २०७८ को राष्ट्रिय जनगणना अनुसार १३ हजार ५ सय ३४ जनसंख्या रहेको छ । ३ हजार ४ सय ३ परिवारको बसोबास रहेको यस गाउँपालिकामा ७१.४ प्रतिशत साक्षर छन् ।

पालिका प्रेस
थप जानकारी