बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट १३ असारमा प्रदेशसभाबाट बहुमतले पारित भएको छ। प्रदेशसभाको १३ असारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेकोे ६४ अर्ब ५४ लाख रुपैयाँको बजेट विधेयक र विनियोजन विधेयक २०८१ बहुमतले पारित गरिएको हो।

सत्तारूढ गठबन्धनका ५६ सांसदले बजेटको पक्षमा मतदान गरेका थिए भने विपक्षी दलका ५३ सांसद विरोधमा उभिएका थिए। प्रदेशसभा सभामुख भुवन कुमार पाठकले निर्णयार्थ पेस गरेको विधेयकहरू बहुमतले पारित भएको घोषणा गरे। यस बजेटमा चालूतर्फ २६ अर्ब १० करोड १६ लाख, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ। यो बजेट चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँले बढी छ।

बजेटको स्रोतमा कर राजस्वबाट २७ अर्ब ३८ करोड ५७ लाख, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड, सङ्घीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ६५ लाख र चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ८६ करोड रुपैयाँ अनुमान गरिएको छ।

प्रदेशसभाको बैठकले ९ जना सांसदहरूले राखेको खर्च कटौतीको प्रस्ताव अस्वीकृत गर्दै बजेट पारित गरेको छ। यो बजेट पारित हुनुले बागमती प्रदेश सरकारलाई आगामी आर्थिक वर्षका योजना र कार्यक्रमहरू कार्यान्वयन गर्न मार्ग प्रशस्त गरेको छ।

पालिका प्रेस
थप जानकारी