बिपद आउनु पहिले नै त्यसको सामना गर्न सक्ने तयारी गर्नु सशक्त नेतृत्व र दूरदर्शी योजनाको चिन्ह हो। यही दृष्टिकोणलाई आत्मसात गर्दै कागेश्वरी मनोहरा नगरपालिका बिपद न्यूनीकरण तथा व्यवस्थापनमा आक्रामक रणनीति सहित अगाडि बढेको छ। अब शब्द होइन, काम बोल्ने बेला आएको छ – र नगरपालिकाले यही मार्ग अपनाएको छ।

नगरपालिकाले भूकम्प, बाढीपहिरो, आगलागी, र रोग महामारीजस्ता बिपद्‌का सम्भावित जोखिमलाई पहिचान गरी त्यसअनुसार पूर्व तयारी, चेतनामूलक कार्यक्रम, र द्रुत प्रतिकार प्रणाली निर्माणमा सक्रियता देखाएको छ। वार्डस्तरीय बिपद् समितिहरू गठन, स्थानीय जनशक्तिको तालिम, र विद्यालय तहमा बिपद शिक्षा कार्यक्रम सुरु गरिएको छ, जुन यस क्षेत्रमा पहिलोपटक यति संगठित रूपमा सञ्चालन गरिएको हो।

नगर प्रमुखले बताए अनुसार, “अब हामी बिपदपछि रुन होइन, पहिले नै बिउँझिन चाहन्छौं। हामीले योजना बनाउने मात्र होइन, त्यसलाई व्यवहारमा उतार्ने अभ्यास पनि सुरु गरेका छौं।”

यसै सन्दर्भमा हालै सम्पन्न सिमुलेशन अभ्यास, स्थानिय युवा संलग्नता कार्यक्रम, र सामग्री भण्डारण केन्द्रको स्थापना जस्ता कार्यहरूले नगरवासीको विश्वास र आत्मबल बढाएको छ। नागरिक तहसम्म पुग्ने चेतना विस्तार कार्यक्रमले अब कागेश्वरी मनोहरालाई काठमाडौं उपत्यकामा ‘बिपद न्यूनीकरणमा नमूना नगरपालिका’ बनाउने दिशामा अग्रसर गराएको छ।

स्रोतका अनुसार, आगामी आर्थिक वर्षमा बिपद प्रतिकार कोष, संकट व्यवस्थापन प्रशिक्षण केन्द्र, र GIS आधारित जोखिम नक्शा प्रणाली पनि लागू गर्ने तयारी भइरहेको छ।

पालिका प्रेस
थप जानकारी