संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त लगानीमा निर्माण गरिएको अत्याधुनिक पानी परीक्षण प्रयोगशाला संचालनमा आएको छ । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको कार्यालय परिसरमा स्थापना गरिएको प्रयोगशालाको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले एक समारोहबीच २८ पुसमा उद्घाटन गरेकी हुन् ।
सुरक्षित र गुणस्तरीय खानेपानी नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै उनले नयाँ र अत्याधुनिक प्रयोगशालाले पानीको गुणस्तर परीक्षणलाई वैज्ञानिक, विश्वसनीय र मापदण्डअनुसार बनाउने विश्वास व्यक्त गरिन् । हेटौंडा उपमहानगरपालिकाले नगरवासीलाई स्वच्छ र सफा पानी खुवाउनका लागि प्रयोगशालाको महत्त्वपूर्ण भूमिका रहने उनले बताइन् । बोर्डका कार्यकारी निर्देशकले प्रयोगशालाको प्राविधिक पक्षबारे जानकारी दिँदै प्रारम्भिक चरणमै राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ तथा सोही मापदण्ड कार्यान्वयन तथा अनुगमन निर्देशिका २०७९ अनुसार तोकिएका २८ प्रकारका भौतिक, रासायनिक तथा सूक्ष्म जैविक परीक्षण गरिने जानकारी दिए ।
उनका अनुसार यसअघि बोर्डले २०७५ सालदेखि सामान्य उपकरणमार्फत पानी परीक्षण गर्दै आएको भए पनि अब आधुनिक उपकरणको प्रयोगले परीक्षण नतिजा अझै विश्वसनीय र मापदण्डअनुसार हुने छ । कार्यक्रममा पत्रकार महासंघ बाग्मती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले प्रयोगशालाको स्थापना नागरिक स्वास्थ्य सुरक्षाका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए ।

प्रयोगशाला स्थापना तथा उपकरण खरिदका लागि ३० लाख रुपैयाँको लागत अनुमान गरिएकोमा बोलपत्र प्रक्रियाबाट काठमाडौंस्थित जेएचएस एनालिटिक कम्पनीले २२ लाख रुपैयाँमा उपकरण आपूर्ति तथा जडान गरेको थियो । यसका अतिरिक्त प्रयोगशालाको पूर्वाधार निर्माण, फर्निचर फिटिङ, मार्बल जडान, विद्युत् कार्य लगायतमा १० लाख रुपैयाँ खर्च गरिएको छ भने आवश्यक केमिकल तथा रसायन खरिदमा २ लाख ५० हजार रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ । ३४ लाख ५० हजार रुपैयाँको लागतमा प्रयोगशाला स्थापना गरिएको हो । जसमा संघीय सरकारबाट ११ लाख र बोर्डबाट २३ लाख ५० हजार रुपैयाँ लगानी गरिएको खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ

नयाँ प्रयोगशालाबाट हेटौंडा र मकवानपुर जिल्लामा मात्र सीमित नरही छिमेकी जिल्ला तथा मधेश प्रदेशलगायतका क्षेत्रबाट आउने पानीका नमुनाहरुको समेत परीक्षण सेवा उपलब्ध गराइने बोर्डले जनाएको छ ।















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्