मकवानपुरको कैलाश गाउँपालिकामा २० ओैँ स्वास्थ्य स्वयमसेविका दिवस मनाइएको छ । सबै वडामा रहेका ४२ जना स्वयमसेविकालाई भेला गरी उनीहरुलाई सम्मान तथा अनुभव आदानप्रदान गरी दिवस मनाइएको हो । कैलाश गाउँपालिकाको आयोजना तथा सांग्रिला डेभलपमेन्ट एशोसिएसनको सहआयोजनामा १९ मंसिरमा कालिकाटारमा आयोजित कार्यक्रमकाबीच स्वास्थ्य स्वयम्सेविकाले खेलेको भूमिकाबारे चर्चा गरिएको थियो ।

कार्यक्रममा बोल्दै कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विकट गाउँमा स्वास्थ्य स्वयमसेविकाले स्वास्थ्य सचेतना र स्वास्थ्य सेवामा खेलेको भूमिका अतुलनीय रहेको बताए । थोरै सेवा सुविधाकाबीच पनि स्वयमसेविकाले उच्च मनोबलका साथ निरन्तर काम गरेको भन्दै उनले प्रशंसा गरे । गाउँपालिकाले स्वास्थ्य स्वयमसेविकालाई प्रोत्साहन गर्न थप सेवा सुविधा ल्याएको समेत सुनाए । प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले सबै हिसाबले पिछडिएको पालिकामा स्वास्थ्य स्वयमसेविकाको भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रमकाबीच गाउँपालिकाभर क्रियाशील स्वयमसेविकामध्येबाट उत्कृष्ट भूमिका निर्वाह गर्ने ३ जनालाई नगदसहित पुरस्कृतसमेत गरिएको थियो । कार्य सम्पादन मूल्यांकनको आधारमा वडा नम्बर १ कि अनिता थिङ प्रथम, वडा नम्बर ८ कि सुकुमाया थिङ द्धितीय र वडा नम्बर ९ कि गोपिमाया घिसिङलाई तृतीय घोषित गरी पुरस्कार प्रदान गरिएको थियो ।

सांग्रिला डेभलपमेन्ट एशोसिएसनका विक्रमसिं धामीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष लोक मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोका, स्वास्थ्य शाखा प्रमुख कृष्ण यादव, स्वास्थ्य कार्यालय मकवानपुरका गजेन्द्रप्रसाद यादव, सांग्रीला डेभलपमेन्ट एशोसिएसनका धनबहादुर मुक्तान, कालिका माविकी विद्यालय नर्स विन्दा तितुङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

पालिका प्रेस
थप जानकारी