नेकपा माओवादी केन्द्र मकवानपुरका इन्चार्ज तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले एकीकृत अखिल नेपाल शिक्षक संगठनलाई अन्य संगठन भन्दा फरक ढंगले अघि बढाउनुपर्ने बताएकी छिन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनमा आवद्ध शिक्षकहरुलाई प्रदेश सरकार हर तरहले सहयोग गर्न तत्पर रहेको बताइन् । नेकपा माओवादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन थाहा नगरपालिकाको प्रथम परिषद भेलाको ३ चैतमा उद्घाटन गर्दै मन्त्री मोक्तानले यस्तो बताएकी हुन् ।

माओवादी केन्द्रका थाहानगर इन्चार्ज समेत रहेका नगर प्रमुख विष्णु बहादुर बिष्टले देशमा आमुल परिवर्तन ल्याउन शिक्षकहरुको महत्वपूर्ण भुमिका रहेको बताउँदै प्रशंसा गरे । विष्टले अब समाजवादी आन्दोलनमा शिक्षकहरुको भुमिका झन आवश्यक रहेको औल्याए । शिक्षकहरुलाई आस्थाको आधारमा भेदभाव गर्न नहुने उनको धारणा रहेको थियो ।

भेलाले सदस्यता अभियान सञ्चालन गर्ने, शिक्षकहरुबीच अन्तरक्रिया तथा संगठन सुदृढिकरणलगायतका प्रस्तावहरुमा छलफल गरी निर्णय भएको छ । भेला तथा प्रशिक्षणबाट सदस्यता वितरण नविकरण, शिक्षकका समस्या र गुनासोको बारेमा छलफल तथा संगठन सुदृढिकरणको विषयमा रणनीति तय गर्ने निर्णय भएको छ । भेलामा नेपाल समाजवादी राष्ट्रिय शिक्षक संगठन परित्याग गरि शिक्षक विष्णु वाइवा एकीकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गरेका छन् ।

संगठनका थाहा नगरपालिका अध्यक्ष मनोज रायमाझीको अध्यक्षतामा भेला भएको थियो । भेलालाई नेपाल राष्ट्रिय प्राध्यापक संघका केन्द्रिय सदस्य हरीकृष्ण कार्की, नेकपा माओवादी केन्द्रका थाहा नगरपालिका अध्यक्ष बिनोद कुमार लामा, एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुरका अध्यक्ष वसन्त राइ, उपाध्यक्ष राजाराम कार्की, केन्द्रिय परिषद सदस्य जंगबहादुर लामा, प्रदेश परिषद सदस्य राजकुमार कार्की, दिपक बिष्ट, प्रदेश सदस्य दिपा बललगायतकाको उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी