मकवानपुरको थाहानगरमा क्रियाशील नेपाल शिक्षक महासंघसहित शिक्षा सम्बद्ध संघ, संगठनहरुले नगर प्रमुख विष्णु बहादुर विष्टलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । नगरभित्रको शिक्षा क्षेत्रमा विभेदपुर्ण कार्यहरु भएको बताउँदै सामुहिक रुपमा नगर प्रमुख विष्टलाई ७ चैतमा ध्यानाकर्षण पत्र बुझाएको हो । पत्रमा भनिएको छ–‘थाहा नगरपालिका शिक्षा शाखाको तर्फबाट भए गरेका केही अस्वाभाविक तथा विभेदपूर्ण क्रियाकलापहरुमा हाम्रो गम्भिर ध्यानाकर्षण भएकोले ध्यानाकर्षण पत्र पेश गर्दछौं ।’

ध्यानाकर्षण पत्रमा विद्यालयहरुका दुरी एवम् विद्यार्थी संख्याको आधारमा तहगत र विषयगत दरवन्दी मिलानको लागि सरोकारवाला पक्षहरुको बीचमा वृहत छलफल गरी दरबन्दी मिलान गर्न भनिएको छ । त्यस्तै आधारभुत शिक्षा उतीर्ण (कक्षा ८) परीक्षा संचालन तथा व्यवस्थापन निर्देशिका २०७५ अनुसार केन्द्र कायम, केन्द्राध्यक्ष व्यवस्थापन, उत्तरपुस्तिका परीक्षण, प्रश्नपत्र निर्माण लगायतका कार्य सञ्चालन निर्देशिकामा व्यवस्था भए वमोजिम नभएको हुँदा सोही निर्देशिका बमोजिम गर्न नगरपालिकाको ध्यानाकर्षण गराइएको छ ।

 

शिक्षक महासंघ र संघ संगठनले बुझाएको पत्रमा नगरको शैक्षिक क्यालेण्डर मार्फत शिक्षण गतिविधिमा एकरुपता कायम गर्न, समयमै क्यालेण्डर उपलब्ध गराउन, प्रधानाध्यापकहरुको बैठक नियमित गर्न, शिक्षा शाखामा निजामती कर्मचारीबाटै कार्यसम्पादन गराउन, शिक्षक सरुवामा दुई विद्यालयको सहमती भएपश्चात सहजीकरण गर्नुपर्ने समेत उल्लेख छ ।

शिक्षा, स्थानीय पालिका र शिक्षक कर्मचारीहरुवीचमा समदुरी कायम गर्नको निमित्त शैक्षिक संवाद समिति गठनकोमो माग समेत ध्यानाकर्षण पत्रमा उल्लेख छ । शिक्षकहरुको तलब मासिक रुपमा निकासा गराउन माग गरिएको छ । शिक्षा ऐन २०२८ बमोजिम नगर शिक्षा समितिमा छनोट भै जाने सम्बन्धित पालिकाभित्रको प्रधानाध्यापक तथा शिक्षकहरुमध्ये समितिको सदस्यमा वरिष्ठतम प्रधानाध्यापक र शिक्षकहरु मध्येवाट छनोट हुनुपर्ने, करार शिक्षक छनोटमा सम्वन्धित तहको स्थानिय विषय विज्ञलाई प्राथमिकता नदिइएकोले आगामी दिनमा स्थानिय तहगत विषयविज्ञहरुलाई प्राथमिकता दिन पनि नगरपालिकाको ध्यानाकर्षण गराइएको छ ।

रिक्त रहेका स्थानमा स्थायी शिक्षक खटी नआइसकेको अवस्थासम्मको लागि विभिन्न समयमा विस्थापित शिक्षकहरुको पदस्थापना गरी शैक्षिक क्षति न्युनिकरण गर्नुपर्ने, कक्षा ३ र कक्षा ५ को आधार परीक्षा नगरपालिका स्तरमा गर्नुपर्ने, नमूना बालकक्षा र सोही नमूना बालकक्षालाई आवश्यक पुर्वाधार तयार गर्दै कक्षोन्नति गर्नुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

निःशुल्क तथा अनिवार्य शिक्षा लागू गर्ने परिपेक्षमा परीक्षा शुल्क निर्धारण गरी प्रश्नपत्र छपाई तथा उत्तरपुस्तिका खरिद गरी परीक्षा सञ्चालन गर्न बाध्य भएको सन्दर्भमा कक्षा १ देखि १० सम्मका छात्रछात्राहरुको परीक्षा संचालनका लागि नगरपालिका मार्फत प्रश्नपत्र तथा उत्तरपुस्तिका उपलब्ध गराउनुपर्ने, स्थायी शिक्षक पदस्थापन गर्दा रिक्त स्थानमा योग्यताक्रमको आधारमा पदस्थापन गर्नुपर्ने ध्यानाकर्षण पत्र मार्फत माग गरिएको छ ।

ध्यानाकर्षण पत्रमा शिक्षक महासंघ थाहा नगरपालिकाका अध्यक्ष राजाराम कार्की, नेपाल राष्ट्रिय शिक्षक संगठन थाहानगरका अध्यक्ष रुपचन्द्र गोपाली, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष मनोज रायमाझी, नेपाल शिक्षक संघ थाहानगरका अध्यक्ष विनोद सुवेदी र अखिल नेपाल शिक्षक संघका प्रतिनीधि हरिशरण रायमाझीले हस्ताक्षर गरेका छन् ।

यसैबीच शिक्षकहरुको जायज मागहरु क्रमशः पूरा गर्ने नगर प्रमुख विष्णु बहादुर विष्टले बताएका छन् । कार्यक्रममा थाहानगर शिक्षक महासंघ तथा शिक्षक संगठन र संघका प्रतिनीधीहरुको उपस्थिती रहेको थियो ।

ज्ञापनपत्रको पूर्णपाठ: