कर्मचारी समायोजनका क्रममा स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको व्यवस्थापनमा देखिएको समस्या समाधान हुने भएको छ । मन्त्रिपरिषदले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आएको प्रस्ताव स्वीकृत गरेसँगै स्वास्थ्य क्षेत्रमा सयौंको संख्यामा समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने भएको हो ।
यो निर्णयले वर्षौदेखि समस्यामा परेका कर्मचारीको समस्या समाधान हुने छ भने स्वास्थ्य सेवा क्षेत्रको सुधारका साथै स्वास्थ्यकर्मीहरूको व्यवस्थापनमा थप स्पष्टता ल्याउने मन्त्रालयको भनाइ छ ।
यस्ता छन् आठ बुँदे निर्णय:
१. कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम समायोजन हुँदा समायोजन हुन नसकी फाजिलमा रहेका, दरबन्दी नभएको तहमा समायोजन भएका र दरबन्दीभन्दा बढी समायोजन भएका स्वास्थ्यकर्मीको सम्बन्धमा कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम सम्बन्धित प्रदेश वा स्थानीय तहको सहमति र त्यस्ता कर्मचारीको मागबमोजिम प्रदेश वा स्थानीय तहमा एक पटकका लागि चालु आर्थिक वर्षभित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत रिक्त दरबन्दीमा समायोजन गर्ने ।
२. कर्मचारी समायोजनको क्रममा प्रदेश र स्थानीय तहमा समायोजन भएका तर सो समयमा पत्र जारी हुन बाँकी स्वास्थ्यकर्मीको हकमा समायोजन पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गर्ने ।
३. कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम संघ पुलमा समायोजन भएका चिकित्सक र मेडिकल बोर्डको सिफारिसमा संघ पुलमा समायोजन भएका स्वास्थ्यकर्मीको प्राथमिकतासमेतलाई हेरी चालु आर्थिक वर्षभित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ/प्रदेश/स्थानीय तहको रिक्त दरबन्दीमा समायोजन गर्ने ।
४. संघ, प्रदेश र स्थानीय तहमा समायोजन भई कार्यरत स्वास्थ्यकर्मीलाई प्रदेश वा स्थानीय तहको दोहोरो सहमतिका आधारमा मागबमोजिम दरबन्दी तथा तलब सुनिश्चित गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देहायबमोजिम कामकाजमा खटाउने ।
क. संघबाट प्रदेश तथा स्थानीय तहमा
ख. एक प्रदेशबाट अर्को प्रदेशमा
ग. एक स्थानीय तहबाट अर्को स्थानीय तहमा
५. साबिकमा मेडिकल अधिकृतको पदमा स्थानीय तहमा समायोजन भई हाल विशेषज्ञता (एमडी/एमएस) हासिल गरेका चिकित्सकलाई निज कार्यरत रहेको स्थानीय तह तथा सम्बन्धित प्रदेशको सहमतिका आधारमा आवश्यकताअनुसार निजको योग्यता र विशेषज्ञताको उपयोग हुने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाललाई प्रदेश वा अन्तर्गत कामकाजमा खटाउने ।
६. स्थानीय तह र प्रदेशमा स्वीकृत दरबन्दीभन्दा बढी कामकाजमा खटिएका स्वास्थ्यकर्मीलाई स्वीकृत दरबन्दीभन्दा बढी नहुने गरी अन्तर स्थानीय तह समन्वय गरी प्रदेशभित्रको स्थानीय तहमा सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालु आर्थिक वर्षभित्र दरबन्दी मिलान गर्ने।
७. कर्मचारी सरुवा तथा व्यवस्थापनसम्बन्धी कानून नबनेको प्रदेशको हकमा प्रदेशमा समायोजन भएका स्वास्थ्यकर्मीको सम्बन्धित प्रदेशभित्रका कार्यालय र स्थानीय तहमा समायोजन भएका स्वास्थ्यकर्मीहको प्रदेशभित्रको स्थानीय तहको दोहोरो सहमतिका आधारमा दरबन्दी तथा तलबको सुनिश्चत गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देहायबमोजिम कामकाजमा खटाउने।
क. प्रदेश तहमा समायोजन भएका स्वास्थ्यकर्मीलाई प्रदेशस्तरीय कार्यालयहरूमा।
ख. स्थानीय तहमा समायोजन भएका स्वास्थ्यकर्मीलाई प्रदेशभित्रको एक स्थानीय तहबाट अर्को स्थानीय तहमा ।
८. उल्लेखित प्रक्रियाबाट व्यवस्थापन गरिएका कर्मचारीको अद्यावधिक विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राख्ने ।
















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्