थाहा नगरपालिकामा गत १० असोजदेखि परेको अविरल भारी वर्षाले कुनै मानवीय क्षति नभएपनि भौतिक रुपमा ठूलो क्षति पुगेको छ । सडक पूर्वाधार, खेतीबाली, आवास, पशुचौपाया आदिमा क्षति पुगेको देखिएको छ ।
पालिका क्षेत्रका सडक अस्तव्यस्त
नगरपालिकामा पर्ने राजपथ खण्डदेखि नगरभित्रका सडकहरु वर्षा र पहिरोका कारण क्षेतविक्षत भएको छ । राजपथको कैयौं स्थानमा पहिरो जानुका साथै सडकमाथि पहिरो थुप्रिंदा सवारी आवागमन अवरुद्ध भएकोमा १३ असोज विहानबाट पालुङ हेटौंडा खण्ड खुलेको छ तर काठमाडौं अझै पुग्न सक्ने अवस्था छैन ।
थाहा नगरको दामन–डाँडाबास, शिखरकोट–आग्रा सडकहरुमा ठूला गाडीहरु चल्न सकेका छैनन् । भित्री सडकका पुलहरुसमेत जोखिममा परेका छन् । थाहा नगरपालिका–३ बागेखोलाको पक्की पुल जोखिममा परेको छ भने बागेखोला बस्ती पनि जोखिममा परेको छ ।
यसैबीच पालिका केन्द्रबाट प्रत्येक वडा जोड्ने सडकहरुमा आंशिक खुलेका छन् । अधिकांश सडकहरु अवरुद्ध छ ।
दर्जनौं घर भत्किए, केही विस्थापित
थाहानगरमा वर्षात्का कारण दर्जनौं घरहरु भत्केका छन् । प्रारम्भिक विवरण अनुसार थाहा–२ का रामभक्त कार्की र शेरबहादुर तामाङको घर भत्किएको छ । त्यसैगरी थाहा ६ का नवराज सुवेदीको घरगोठ र रत्नलाल बलामीको गोठ भत्केको छ भने थाहा ९ मा शालिग्राम लामिछाने र चिरञ्जीवी लामिछानेको घर भत्किएको छ ।
थाहा ११ मा आइते थोकरको घर र थाहा ८ मा बालकुमार नेपालीको गोठ भत्किएको छ । थाहा ४ सिमभञ्ज्याङका रामकुमार गोले र सुन्तली गोले तथा थाहा ११ का सुकराम थोकर घरबाट बिस्थापित भएका छन् ।
थाहा ५ का उमेश गुरुङ र दीप गुरुङको घर पूर्ण जोखिममा परेको खबर छ ।
दर्जन बढी बाख्रा मरे
अविरल वर्षाका कारण गोठ भत्किएर पुरिँदा दर्जन बढी बाख्राहरु मरेको प्रारम्भिक विवरण प्राप्त भएको छ । थाहा ६ मा नवराज सुवेदीको घरगोठ भत्किंदा त्यसमा पुरिएर एउटा गाई र ६ वटा बाख्रा मरेका छन् भने थाहा ६ कै रत्नलाल बलामीको गोठले थिचेर ८ वटा बाख्रा मरेका छन् ।
थाहा ८ का बालकुमार नेपालीको गोठ भत्किएर पुरिँदा २ वटा बाख्रा मरेका छन् ।















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्