मकवानपुरस्थित त्रिभुवन राजपथको भिमफेदी गाउँपालिका–२ भैंसे चेकप्वाईन्टबाट १ सय ६० किलो गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गोरखाका २८ वर्षीय अमिर मियालाई १२ मंसिर बिहान प्रहरीले गाँजासहित पक्राउ गरेको हो ।

प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ आउँदै गरेको प्र। ३–०१–०२३ च ८०४७ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाइछिपाइ ल्याएको उक्त परिमाणको गाँजा फेला पारी गाडी चालक अमिरलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक एव प्रवक्ता श्यामु अर्यालले बताए ।

गाडीमा खाली तरकारी बोक्ने क्रेटले छोपेर गाँजा राखेर ल्याइएको थियो । प्लास्टिकले प्याक गरेर ३० वटा पोका बनाएर गाँजा ल्याइएको प्रवक्ता अर्यालले जनाए । मकवानपुर प्रहरीका अनुसार चालु आवको साउनदेखि मंसिर ११ गतेसम्म २ हजार ५ सय ६० केजी गाँजा, ३० केजी चरेस र २ सय ३९ ग्राम खैरोहिरोइन बरामद गरेको छ ।

लागूऔषध कारोबार गरेको आरोपमा मकवानपुर प्रहरीले नेपाली र भारतीय नागरिक ६२ जना पक्राउ गरेको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता अर्यालले बताए । यस अवधिमा २ जना महिलासहित ५७ जना नेपाली र एक महिलासहित ५ जना भारतीय नागरिक लागूऔषध कारोबारको आरोप पक्राउ गरिएको छ, उनले भने ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकअनुसार गत आवमा लागूऔषध ओसारपसार गरेको आरोपमा २१ महिलासहित २ सय ५० जनालाई फ्रहरीले पक्राउ गरेर मुद्दा दायर गरेको थियो । उक्त अवधिमा मकवानपुर प्रहरीले ३ हजार ९ सय ६२ केजी गाँजा बरामद गरेको थियो भने १३ केजी अफिम, ७८ ग्राम खैरोहिरोइन र १ सय ५ केजी चरेश बरामद गरेको थियो ।

पालिका प्रेस
थप जानकारी