मकवानपुरको मनहरी गाउँपालिकामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । मनहरी गाउँपालिका वडा नम्बर ५ बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट धनबहादुर रूम्बाकी श्रीमति ७२ वर्षीया कान्छिमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

रूम्बालाई १४ पुस साँझ ५ बजेतिर घरनजिकैको खोल्सामा बाघले आक्रमण गरेको जनाइएको छ । मृतक रूम्बा घरनजिकै बारीमा घाँस काट्न गएकोमा अबेरसम्म नफर्किएपछि खोजी गरिएको थियो । आफन्तले खोजी गर्दै जाने क्रममा घरबाट करिब ५०० मिटरपूर्व शरीरमा चोट लागेको मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

घटनाबारे प्रहरीलाई राति करिब १० बजे मात्रै खबर भएकोमा घटनास्थलमा अनुसन्धानका लागि खटिएका सापकोटाले बताए ।

यसैबीच घटना स्थलबाट लगभग ६०० मिटर दक्षिण तर्फको स्थानिय सुर्य बहादुर मोक्तानको खोरबाटै बाघले ६ वटा बाख्रा मारी खाएको छ । १५ पुस बिहान ५ बजे तिर बाघले बाख्रा खाएको पीडित मोक्तानले बताए । पटक पटक बाख्रा , भैंसी लगायत मान्छे समेत आक्रमण गरी रहेको हुँदा स्थानीय समुदायलाई सजक रहन वडा अध्यक्ष दीपेन्द्र अधिकारीले अनुरोध गरेका छन् ।

मनहरीमा ४ महिनाअघि भैंसीले हानेर बाघ मरेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र मध्यवर्ती वनसँग मनहरी जोडिएकाले यहाँ हरेक वर्ष वन्यजन्तुको आक्रमणले जनधनको क्षति हुँदै आएको छ । स्थानीयले वन्यजन्तुको जोखिम न्युनिकरणका लागि तारबार लगाएर बस्ती क्षेत्रको संरक्षणको माग गर्दै आए पनि राज्यले ध्यान दिएको छैन । मनहरीको पश्चिम क्षेत्रमा पटक–पटक हात्तीले पनि क्षति गर्ने गरेको छ ।

मनहरी गाउँपालिकाको हेटौंडा उपमहानगरसँग सीमा जोडिएको पर्वी क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जसँग पनि जोडिएको छ । पर्सा निकुञ्जबाट आएका वन्यजन्तुले पनि मनहरी–१ देखि ४ नम्बर वडा र हेटौंडाको १२,१३,१४ नम्बर वडामा आंतक मच्याउँदै आएका छन् ।

पालिका प्रेस
थप जानकारी