रामेछापको उमाकुण्ड गाउँपालिकाले लिखु खोलामा नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको छ । लिखु खोलामा निर्माणाधिन जलविद्युत् आयोजनाले जथाभावी नदी उत्खनन गरेर वातावरणमा असर गरेको भन्दै पालिकाले रोक लगाएको हो ।

पालिकाको पुस १५ मा बसेको कार्यपालिकाको बैठकले लिखु खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न रोक लगाएको अध्यक्ष शेरबहादुर सुनुवारले बताए । लिखु खोलाबाट आईईई र ईआईएको प्रतिवेदन तयार नहुँदासम्म ढुंगा, गिट्टी, बालुवा उत्खननमा रोक लगाएको उनले बताए ।

‘जलविद्युत् आयोजनाहरूले जथाभावी खोला उत्खनन गरेर वातावरण नै प्रभावित बनाएको स्थानीयको गुनासो बढेपछि तत्कालका लागि रोक लगाएका छौं,’ उनले भने, ‘उत्खननका लागि आईईई र ईआईएको प्रतिवेदन बनाउने काम भइरहेको छ, त्यसपछि मात्रै बोलपत्र गरेर उत्खनन गर्न दिने छौं ।’
लिखु खोलामा दुगड ग्रुपले निर्माण गरिरहेका विभिन्न जलविद्युत् आयोजनाले कानुनविपरीत खोलाबाट उत्खनन र प्राकृतिक स्रोतको दोहन गरेको भन्दै स्थानीयले पालिकामा पटक–पटक रोक लगाउन आग्रह गर्दै आएका थिए ।

गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने लिखु खोला क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन र पर्यावरणमा असर गर्ने काम भएकाले जंगली जनावरसमेत प्रभावित बन्दै आएको स्थानीयले गुनासो गरेका छन् ।

जथाभावी उत्खननले पानीका मूलहरू सुकेको र जंगली जनावरसमेत बस्तीमा पस्न थालेको भन्दै स्थानीयले पालिका र संरक्षण क्षेत्रमा गुनासो गरेका छन् । यस्तै खोला नै सुकाएर विद्युत् उत्पादन गर्दा जलचर र वन्यजन्तुसमेत प्रभावित भएको स्थानीयले बताएका छन् ।

पालिका प्रेस
थप जानकारी