नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेताको रुपमा ईन्द्रबहादुर बानियाँले पदभार ग्रहण गरेका छन् । १४ साउनमा भएको दलको नेताको चुनावमा पराजित भएपछि बहादुरसिंह लामाले बानियाँलाई पद हस्तान्तरण गरेका हुन् ।
हेटौंडामा भएको निर्वाचनमा कुल ३७ मत खसेकोमा बानियाँले २२ र उनका प्रतिस्पर्धी बहादुर सिंह लामाले १४ मत प्राप्त गरे । एक मत भने बदर भएको छ । बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् । संसदीय दलको बहुमत संख्या अर्थात् २२ मतसहित बानियाँ दलको नेता चुनिएका हुन् । यसअघि बानियाँकै अगुवाइमा संसदीय दलका तत्कालीन नेता लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । उक्त प्रस्ताव संसदीय दलको बहुमत अर्थात् २२ मतले पारित गरेको थियो ।
रिक्त संसदीय दलको नेता पदका लागि १४ साउनमा निर्वाचन गरिएको हो । संसदीय दलको नेतामा बानियाँ र लामा यही कार्यकालमा दोस्रो पटक आपसमा भिडेका हुन् । २०७९ मा बानियाँलाई नै पराजित गर्दै संसदीय दलको नेतामा लामा निर्वाचित भएका थिए । संसदीय दलको नेतामा निर्वाचित बानियाँ कांग्रेसको बागमती प्रदेश सभापतिसमेत हुन् । दलको नेताको पदभार ग्रहण गरेसँगै कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।

















































पालिका प्रेस 
















प्रतिक्रिया दिनुहोस्