नेपालमा कक्षा १ मा भर्ना हुने करिब ९ लाख बालबालिकामध्ये माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्म पुग्दा झण्डै साढे चार लाख विद्यार्थी विद्यालय प्रणालीबाट बाहिरिने गरेको तथ्यांकले देखाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको विद्यालय शिक्षासम्बन्धी तथ्यांकले विद्यार्थीलाई न्युनतम माध्यमिक तहको शिक्षा पार लगाउन अझै पनि प्रमुख चुनौती रहेको देखाएको छ।

२० असारमा हेटौँडामा आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा मानव स्रोत विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी निम प्रकाश सिंह राठौरले कक्षा १ मा कुल ८ लाख ७९ हजार ४६९ विद्यार्थी अध्ययनरत रहेकोमा कक्षा १० मा पुग्दा यो संख्या ४ लाख ५७ हजार ३०३ मा झर्ने गरेको जानकारी दिए । अर्थात् सुरुवाती तहदेखि एसईईको तहसम्म पुग्दा करिब ४ लाख २२ हजार विद्यार्थी विद्यालयबाट बाहिरिने वा अध्ययनलाई निरन्तरता नदिने अवस्था देखिएको छ। कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीको कुल संख्या ७० लाख ४० हजार ८२५ रहेको छ ।

केन्द्रका अनुसार कक्षा १ मा नयाँ भर्ना भएका ७ लाख ६५ हजार ९२१ विद्यार्थीमध्ये ५ लाख ९३ हजार ६४१ अर्थात ७७.५१ प्रतिशत ले मात्र ईसीडी अनुभव प्राप्त गरेका छन् । एकचौथाइ बालबालिका पूर्वप्राथमिक शिक्षा नलिई सोझै विद्यालय प्रवेश गर्ने गरेको तथ्यांक रहेको राठौरले बताए । आधारभूत तहको सुरुआती कक्षामै समस्या बढी ड्रपआउट दर देखिएको छ । कक्षा १ मा ड्रपआउट दर ४.४ प्रतिशत रहेकोमा कक्षा २ मा ३.१ प्रतिशत रहेको छ । त्यस्तै कक्षा ३ मा २.७ प्रतिशत र कक्षा ८ मा २.१ प्रतिशत ड्रपआउन दर रहेको छ। समग्र कक्षा १–८ मा औसत ड्रपआउट दर २.३ प्रतिशत रहेको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

माध्यमिक तहमा भने केही सुधारिएको देखिन्छ । कक्षा ९ मा ड्रपआउट दर २.८ प्रतिशत रहे पनि कक्षा १० मा यो ०.७ प्रतिशत मा सीमित छ । कक्षा ९–१० को औसत ड्रपआउट दर १.८ प्रतिशत रहेको छ । शिक्षा क्षेत्रमा पहुँच विस्तार भए पनि प्रारम्भिक कक्षाबाट माध्यमिक तहसम्म विद्यार्थीलाई विद्यालयमै टिकाइराख्ने चुनौती अझै कायम रहेको केन्द्रका निर्देशक राठौरले बताए ।

पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय हेटौँडाका सूचना अधिकारी होमबहादुर नेपाली, हेटौँडा उपमहानगरपालिकाका शिक्षा शाखाका अधिकृत हरिश्चन्द्र सापकोटा, सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधिलगायतले आफ्ना धारणा राखेका थिए ।

पालिका प्रेस
थप जानकारी