‘आफ्नो ठाउँको मौलिक कला र संस्कृति साटासाट गरौँ’ भन्ने नाराका साथ नेपाल साँस्कृतिक कला मन्दिरको आयोजनामा काठमाडौँको चन्द्रागिरी नगरपालिका–९, मच्छेगाउँमा देशभरका लाखे नाच प्रदर्शनी हुने भएको छ ।
वर्षेनी आयोजना हुने लाखे नाच यसपटक मिति २०८० असोजको पहिलो साता ५ र ६ गते दुई दिन प्रदर्शनी हुने भएको हो । अहिलेका युवा जमात आधुनिक संस्कार र संस्कृतिमा रमाइरहेका छन्, उनीहरुलाई आफ्नो देशको मौलिक कला संस्कृति र पहिचानको बारेमा अवगत गराइ उनीहरुलाई प्रत्यक्ष अनुभव र महत्व महसुस गराउने उद्देश्यका साथ यस लाखे नाच प्रदर्शनी गर्न लागिएको आयोजक संस्था नेपाल साँस्कृतिक कला मन्दिरका अध्यक्ष रमेश शाहीले बताए । परापूर्वकालदेखि हाम्रा पुर्खाहरुले बचाएर राखेका नेपाल र नेपालीहरुको गहनाको रुपमा रहेको हाम्रो चाड, पर्व, जात्रा तथा बाजागाजाहरु अहिलेको नयाँ पुस्ताले बिर्सदै गएको अवस्थामा देशभरिका विभिन्न कुना काप्चामा रहेका बाजागाजा र नृत्यलाई एउटै मञ्चमा ल्याइ मौलिक कला र संस्कृतिलाई नेपालमा मात्रै नभएर संसारभर चिनाउन र त्यसको महत्च झल्काउनका लागि यस लाखे नाच प्रदर्शनीले ठूलो भूमिका खेल्ने अध्यक्ष शाही बताउँछन् ।
उक्त प्रदर्शनीमा देशभरका नेवार समुदायबाट लाखे नाच प्रदर्शनीका लागि कलाकारहरु सहभागी हुनेछन् । असोजको पहिलो साता हुन लागेको सो लाखे नाच प्रदर्शनीका लागि असोज १ गतेसम्म दर्ता गरिसक्नुपर्ने समितिले जनाएको छ । कार्यक्रमका क्रममा लाखे नाचमा सहभागी कलाकारहरु लगायत विभिन्न विधामा क्रियाशील ख्याती प्राप्त व्यक्तिहरूको सम्मान गरिने बताइएको छ । साथै लाखे नाच प्रदर्शनीमा देशभरबाट आउने सहभागीहरुका लागि खान र बस्नको समेत व्यवस्था गरिने अध्यक्ष शाहीले जानकारी दिएका छन् ।
२०५८ सालमा स्थापना भएको यस नेपाल साँस्कृतिक कला मन्दिरले नेपालको मौलिक संस्कृति जगेर्ना गर्ने उद्देश्यकासाथ विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्