हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ थनाभर्याङमा निर्माण भइरहेको कृषि थोक बजारको अनुगमन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाको नेतृत्वमा प्राबिधिक सहितको टोलीले बन्दै गरेको थोक बजारको अनुगमन गरिएको हो ।

कुल २८ करोड ३६ लाख ५५ हजार रुपैयाँ लागतमा अन्तराष्ट्रिय स्तरको कृषि थोक बजार निर्माणको काम ३० प्रतिशत सकिएको उपमेयर लामाले बताउनुभयो । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा प्रादेशिक कृषि थोक बजार निर्माण भइरहेकोे हो ।

दुइ बिगाहा ४ धुर क्षेत्रफलमा कृषि थोक बजार निर्माण भइरहेकोे छ । कृषि विकास निर्देशनालयको ७० र उपमहानगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा कृषि थोक बजार निर्माण सुरु भएको हो । थोक बजार स्थापना भईसकेपछि कृषि बजारहरुमा उपयुक्त भण्डारण, सित भण्डार, प्याकिङ, ग्रेडिङ, प्रशोधन लगायतको सुविधाहरुको अपर्याप्तता र अभाव जस्ता समस्याको अन्त्य हुने भएको छ ।

थोक बजारले कृषकहरुले न्यून मूल्य पाउने, उपभोक्ताले चाहे अनुसार गुणस्तरीय उपज नपाउने र उपभोक्ता र फार्म गेट मूल्यको अन्तर बढि हुने समस्याको समेत समाधान गर्ने अपेक्षा गरिएको छ । कृषि थोक बजार निर्माण भइसकेपछी हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिने भएको छ ।

कुनैपनि बहानामा कृषि थोक बजार निर्माणको काममा ढिलाइ नगर्नका लागि उपमेयर लामाले निर्माण कम्पनिलाई निर्देशन दिए । सरकार फेल हुने भनेको ठेकेदारले समयमानै काम नगर्दा हुने भएकाले छिटो काम सकेर पुरस्कार लिनका लागि निर्देशन दिए ।

पालिका प्रेस
थप जानकारी