मकवानपुरका स्थानीय तहमा तीन वर्षअघि १० थरी कर्मचारी रहेकामा अहिले १५ थरी कर्मचारी पुगेका छन् । पालिकाले विभिन्न योजना र कार्यक्रममा कर्मचारी नियुक्ति गर्दा स्थानीय तहमा कर्मचारीको प्रकार बढ्दै गएका हुन् ।

स्थानीय तहमा थरी थरीका कर्मचारी कार्यरत हुँदा त्यसको प्रत्यक्ष सजाय भने सेवाग्राहीले भोग्नुपरेको छ । थरी थरी कर्मचारीमार्फत सेवा प्रवाह हुँदा समग्रमा सङ्घ, प्रदेश र स्थानीय तहकै नतिजा कमजोर हुनुका साथै सेवा प्रवाहमा ढिलासुस्ती हुने गरेको स्थानीय तहमा कार्यरत कर्मचारीले स्विकार्दै आएका छन् ।

अहिलेसम्म स्थानीय तहमा १५ प्रकारका कर्मचारी कार्यरत रहेको भन्दै उक्त कर्मचारीको सेवा सुविधा पनि फरक फरक हुँदा कर्मचारी व्यवस्थापन भद्रगोल र जटिल बन्दै गएको छ ।

बिशेषगरी हेटौंडा उपमहानगरपालिकामा १५ थरीका कर्मचारीका कारण थप अन्यौल सृजना भएको छ । एक आपसमा समन्वय कम हुने फरक क्षेत्रबाट आएकाले पनि सेवा प्रबाहका काममा थप जटिलता भएको यहाँ कार्यरत कर्मचारीहरु बताउँछन् । अनी हेटौंडाका जनप्रतिनिधि र थरीथरीका कर्मचारीका काम गर्ने तरिका पनि फरक फरक हुने भएकाले थप समस्या भएको कर्मचारीहरुको गुनासो छ । यहाँको जस्तै समस्या मकवानपुरका अरु नौ वटा स्थानीय तहमा पनि देखा परेको छ ।

हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबाबु पुरी भने थरीथरीका कर्मचारी भएपनि एक आपसमा समन्वय गरेर काम गर्दै आएको बताउनुहुन्छ । उपमहानगरपालिकामा आठ वटा महासाखा रहेको र ती महासाखाको नियमित रुपमा बैठक बस्ने र त्यही अनुसार काम गर्दै आएको उहाँ बताउनुहुन्छ । स्थानीय तहबाट थरीथरीका सेवा हुने भएकाले त्यही अनुसार कर्मचारीहरु पनि रहेको र त्यस क्षेत्रमा उनीहरुको बिज्ञता अनुसार काम भइरहेको उहाँ बताउनुहुन्छ ।

मकवानपुरका दश वटै स्थानीय तहमा स्थानीय तहमा साबिक स्थानीय निकायका स्थायी, अस्थायी, करार र ज्यालादारी, जिल्ला समन्वय समितिबाट स्थानीय तहमा समायोजित स्थायी, अस्थायी र करारका कर्मचारी, विभिन्न विकास समिति र प्रतिष्ठानका कर्मचारी, निजामती सेवाबाट समायोजन भई आएका कर्मचारी, २०७४ सालपछि दरबन्दीमा नियुक्त भएका करारका कर्मचारी, २०७४ सालपछि दरबन्दीबाहिरका कर्मचारी कार्यरत रहेको जनप्रतिनिधिहरु बताउँछन् ।

थरी थरीका कर्मचारीका कारण स्थानीय तहका राजनीतिकर्मी र कर्मचारीहरु अन्यौलमा छन् । मुलुक संघीयतामा गएपनि स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृत संघका समेत हुने भएकाले समस्या भएको नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेशका इन्चार्ज बिष्णु प्रसाद अर्याल बताउनुहुन्छ ।

त्यस्तै स्थानीय तहकै लागि लोक सेवा आयोगबाट सिफारिस भई आएका कर्मचारी, प्रदेश लोक सेवा आयोगले पदपूर्ति गरेका कर्मचारी, स्थानीय तहका आयोजना र कार्यक्रमका कर्मचारी सङ्घीय सरकारले स्थानीय तहमा पठाइएका प्रमुख प्रशासकीय अधिकृत गरी १५ प्रकारका कर्मचारी कार्यरत रहेका छन् ।

स्थानीय तहमा सेवा प्रवाहका लागि नियुक्त भएका विभिन्न थरीका कर्मचारी नै सन्तुष्ट नहुँदा उहाँहरूबाट प्राप्त गर्ने कार्यसम्पादनको नतिजा स्वाभाविक रूपमा गुणस्तरीय हुन नसकन्े अर्याल बताउनुहुन्छ । मकवानपुरका स्थानीय तहमा थरी थरीका कर्मचारी हुँदा त्यसको दण्ड र सजाय सर्वसाधारण सेवाग्राहीमा पर्ने गरेको छ । स्थानीय तहमा फरक फरक क्षेत्रबाट कर्मचारी आएकाले एउटै तहका कर्मचारीमा पनि कनिष्ठ र वरिष्ठतमको द्वन्द्व हुने गरेको छ ।

स्थानीय सेवा प्रभावकारी बन्न नसक्दा स्थानीय तहमा कर्मचारी भद्रगोल भएको हो । संविधानमा स्थानीय तहका लागि आवश्यक जनशक्ति प्रदेश लोक सेवा आयोगले पूर्ति गर्ने उल्लेख छ । संविधानकै अनुसूची–८ मा स्थानीय तहको एकल अधिकारको सूचीमा स्थानीय तहले स्थानीय सेवाको व्यवस्थापन गनुपर्ने उल्लेख गरिएको छ ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले स्थानीय तहमा थरी थरीका कर्मचारीबिच वैमनस्य बढेको, त्यसले सेवा प्रवाहमा प्रत्यक्ष असर गरेको बताउनुभयो । स्थानीय तहमा थरी थरी कर्मचारी कार्यरत भएकाले एक अर्काविरुद्ध प्रतिरोध साँध्ने, एउटा शाखाले अर्को शाखाबिच काममा असहयोग गर्नेदेखि ठुला मतभेद रहने गरेको छ ।

उहाँले स्थानीय तहमा कार्यरत विविध कर्मचारीको आपसी समस्या सरकारले स्थानीय सेवा ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गराएर समस्या समाधान गर्न सुझाव दिनुभयो ।
-जनपत्रबाट

पालिका प्रेस
थप जानकारी