सार्वजनिक निकायमा कार्यरत कर्मचारी तथा पदाधिकारीले उपलब्ध भएसम्म स्वदेशी उद्योगबाट निर्मित पोसाक प्रयोग गर्नु पर्ने भएको छ। साथै, सार्वजनिक निकायका पदाधिकारीले कुनै उपहार प्रदान गर्दा स्वदेशी वस्तु प्रयोग गर्नु पर्ने प्रावधान लागू गरिएको छ। सार्वजनिक निकायबाट आयोजना हुने कार्यक्रम, गोष्ठी वा सेमिनारमा आवश्यक पर्ने वस्तुको प्रयोग गर्दा पनि उपलब्ध भएसम्म स्वदेशी वस्तु अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।
नेपाल सरकारले हालै जारी गरेको ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१’ मार्फत यस्तो प्रावधान ल्याइएको हो। औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६८ अन्तर्गत निर्माण गरिएको निर्देशिकाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै स्थानीय उद्योगलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। निर्देशिकाले स्वदेशी वस्तुको प्रयोगलाई सुनिश्चित गर्न ‘नेपाली उत्पादन’ नामक विद्युतीय पोर्टल निर्माण गरिनेछ, जसले सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउनेछ।
निर्देशिकाको व्यवस्था अनुसार, सार्वजनिक निकायले स्वदेशी वस्तुको खरिद गर्दा उक्त पोर्टल प्रयोग गर्नुपर्नेछ। स्वदेशी उत्पादकहरूले आफ्ना उत्पादनको नाम, गुणस्तर, मूल्य र अन्य विवरण पोर्टलमा सूचीकृत गर्नुपर्नेछ। सार्वजनिक निकायले खरिद गरेको स्वदेशी वस्तुको विवरण पनि पोर्टलमा अद्यावधिक गर्नुपर्नेछ। यस प्रणालीले स्वदेशी उत्पादनको पहिचान, गुणस्तर प्रमाणीकरण र खरिद प्रक्रियामा सहजीकरण गर्नेछ।
सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग बढाउन निर्देशिकाले केही विशेष प्रोत्साहन व्यवस्था गरेको छ। स्वदेशी वस्तुको उच्चतम प्रयोग गर्ने संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक निकायहरूलाई वार्षिक रूपमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ। यसले सरकारी निकायहरूलाई स्वदेशी उत्पादन प्रयोगमा प्रेरित गर्नेछ।
हेर्नुहोस् निर्देशिका:



































































प्रतिक्रिया दिनुहोस्