हेटौंडा उपमहानगरका निर्वाचित जनप्रतिनिधिलाई लक्षित गरी जलवायु उत्थानशील कार्य सुदृढिकरणको अभिमुखीकरण गरिएको छ । नगरप्रमुख मीनाकुमारी लामाको उपस्थितिमा नगरपालिका सभाहलमा गैसस महासंघ मकवानपुर अध्यक्ष रमिला सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाका कार्यक्रम संयोजक अनन्त बानियाँले नेपालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु परिवर्तनमा परिस्थितिकीय प्रणालीमा आधारित अनुकुलनका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । मौसमको चरित्रमापरिवर्तन, कृषि र खाद्यसुरक्षा, जैविक विविधता प्रभाव, शिक्षा, स्वास्थ्य र कृषिमा प्रभाव, आवाज र संरचनामा प्रभाव र ऊर्जाको उत्पादनमा प्रभावसँगै जोखिम न्यूनीकरण र तयारीका विषयमा बृहत छलफल गरिएको थियो ।
वन संरक्षण र पुनस्र्थापना, कृषि प्रणाली अनुकुलन, जलवायु परिवर्तनका नीति र सुशासन, स्थानीय नीति निर्माणमा पालिकाको भूमिका केके हुन सक्छन् भनी सबैको राय सुझाव गरी छलफल गरिएको थियो । कार्यक्रममा उपमहानगरका वन तथा वातावरण समितिका संयोजक एवम् वडा नं.१० का अध्यक्ष फुर्वादोर्जे लामाले नेपालमा कानून धेरै बन्यो तर, कार्यान्वयन नभएको बताए । हामीमा पनि कमजोरी रहेको र प्रदेश सरकार र हामीबीच समन्वयकारी भूमिका नभएको बताए । वन वातावरणको विषयमा नगरले आवश्यक नीति नियम निर्माण गरिनुपर्ने समेत वडाध्यक्ष लामाले बताए ।
कार्यक्रममा जलवायु परिवर्तनको हामी कारक हौं त ? भन्दै सहभागीले प्रश्न उठाएका थिए । कार्यक्रममा वडा नम्बर २ का वडाअध्यक्ष विष्णुगोपाल महर्जन, ८ का वडाध्यक्ष रामकृष्ण थापा, ११ का वडाअध्यक्ष जुना दाहाल, १९ वटै वडाका वडासदस्यहरु, उपमहानगरका विभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो । गैरसरकारी संस्था महासंघले यसअघि पाँचवटा स्थानीय तहसँग छलफल गरिसकेको छ ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्