‘सेलिब्रिटी तथा सोसिअल मिडिया इन्फ्लुएन्सरको माध्यमबाट फिल्म समीक्षा प्रभावित भइरहेकोले स्वतन्त्र र निर्भिक समीक्षाको खाँचो झन् बढेको छ,’ मकवानपुरको थाहा नगरपालिकामा भएको थाहा फिल्म फेस्टिभलको दोस्रो दिन भएको ‘किन चाहिन्छ फिल्म समीक्षा ?’ शीर्षकमा अन्तक्र्रियाका क्रममा समीक्षक प्रसन्न मालीले भने । उनीसँगै अन्तरसंवादमा थिए टेक्स्ट फम्र्याटमा समीक्षा गर्दै आएका श्रीजु सरल र प्रभाकर गौतम । उनीहरूले छलफलका क्रममा आ–आफ्ना माध्यममा रहेका चुनौती र अवसरबारे अनुभव साटे ।
समीक्षक मालीले नेपालमा कोभिडपछिको समयमा इन्फ्लुएन्सल कल्चरले फिल्म समीक्षाको क्षेत्र प्रभावित भइरहेको तर्क गर्दै भने, ‘सेलिब्रिटी तथा सोसिअल मिडिया इन्फ्लुएन्सरको माध्यमबाट फिल्म समीक्षा प्रभावित भइरहेकोले स्वतन्त्र र निर्भिक समीक्षाको खाँचो झन् बढेको छ ।’ फिल्म समीक्षाको महत्व, प्रभावशक्ति, आवश्यकता र अवसरसम्मका विषयलाई छोएको छलफलमा आममानिसले खाने भोजनदेखि लगाउने लुगासम्मको छनोटमा सिनेमाले प्रभाव पार्ने विषयमा चर्चा भयो ।

समीक्षक गौतमले भने, ‘सिनेमाले समग्र समाजको मानसिकतालाई आकार दिने सामथ्र्य राख्ने भएकाले सिनेमाको समीक्षा हुनु आवश्यक छ । फिल्म समीक्षा गर्दा पर्दाभित्रका कुरामा मात्र सीमित नभई पपुलर कल्चरका विभिन्न पक्ष र आयामबारे समेत समीक्षकहरुले ध्यान दिनु जरुरी छ ।’
यही विषयमा समीक्षक सरलले फिल्म संविधान हो भने समीक्षा संसद् भन्दै अर्को उदाहरण दिइन्, ‘फिल्मले हामीलाई चराको आँखा दिन्छ । जसरी चराले माथिबाट हेर्दा भुइँको व्यापक दृश्य एकसाथ देख्न सक्छ फिल्म हेर्दा हामीले त्यस्तै दृश्य देख्न सक्छौँ । दैनिक जीवनमा आफूले गर्ने गल्ती, लिने निर्णयको असर कहाँ, कसरी परिरहेको छ हामी छुट्याइहाल्न सक्दैनौँ । तर, फिल्मभित्रका हामीजस्तै पात्रहरूलाई हेरेर हामी आत्मसमीक्षा गर्न सक्छौँ र आफूलाई सच्याउन सक्छौँ । फिल्मको महत्व हुने भएकैले फिल्म समीक्षाको पनि आवश्यकता हुन्छ ।’

चलचित्र समीक्षक समाज नेपाल फिक्सनमा लामो सयम फिल्म प्रदर्शन र समीक्षात्मक छलफल कार्यक्रमको संयोजक रहेका गौतमले समीक्षाका क्षेत्रमा विभिन्न भूमिकामा छरिएर रहेका सबैले सामूहिक हस्तक्षेप गर्न सकेमा मात्रै नेपालमा रिभ्यू कल्चरले सार्थकता पाउने बताए । फिल्मको मात्र नभई समीक्षक र समीक्षाको पनि समीक्षा हुनु पर्ने तर्क गरे । अनौपचारिक शैलीमा एक अर्कालाई प्रश्न सोध्दै जवाफ दिँदै भएको अन्तरसंवादमा तीन जना वक्ता र तीनै जना सहजकर्ताको भूमिकामा देखिए ।
गत २८ पुसबाट सुरु भएको फिल्म फेस्टिभल १ माघमा समापन भएको छ । फेस्टिभलमा शर्ट फिल्म, फिचर फिल्म र डकुमेन्ट्रीसमेत गरी जम्मा २० फिल्म प्रदर्शनमा राखिएका थिए । फेस्टिभलको पहिलो दिन ‘नेपाली सिनेमाको विविधता’ विषयमा रंगकर्मी एवं फिल्मकर्मी सुलक्षण भारती र कलाकार नवीन न्यौपानेबीच प्रश्नोत्तर कार्यक्रमसमेत राखिएको थियो ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्