घामपानी छिर्ने अत्यन्त साँघुरो कतरे छाप्रोमा बस्दै आएका १०० वर्षीय जयराम (प्रजा) चेपाङ दम्पतीले चिटिक्क परेको नयाँ घर पाएका छन् । शौचालयसहितको नयाँ घर पाउँदा आफूहरू दंग परेको उनीहरूले सुनाए ।

जयराम दम्पतीलाई पोखरा घर भइ अमेरिका बस्दै आएका कर्ण गुरुङको परिवारले छाप्रोनजिकै पक्की घर बनाइदिएका हुन् । मकवानपुरको राक्सिराङ गाउँपालिका–५ साचक टोलमा अभियन्ता रेखा लोप्चन तामाङको अगुवाइमा निर्माण गरिएको उक्त नवनिर्मित घर पूर्वसहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ५ माघमा चेपाङ दम्पतीलाई डो¥याउँदै घरभित्र प्रवेश गराइएकी छिन् । भुइँमा कार्पेट बिच्छ्याएको र बिस्तरासहितको २ वटा पलङ भएको कोठाभित्र छिर्दै जयरामले हँसिलो अनुहार पार्दै चेपाङ भाषामा भने, ‘किम दोती आसतेआया’ (घर पाउँदा खुसी लाग्यो) ।

वि.सं. १९८१ मा जन्मेका जयरामभन्दा १० वर्ष कान्छी श्रीमती लक्ष्मी चेपाङले मर्ने बेलामा नयाँ घरमा बस्न पाइयो भन्दै सबैलाई नमस्कार गरिन् । कपाल–दारी सेताम्मे भइसकेका जयराम कुप्रेर बल्लतल्ल हिँड्छन् । ९० वर्षीया लक्ष्मी उनीभन्दा अलि फुर्तिली छिन् । उनले नै घरमा खाना पकाउने गर्छिन् । सधैं चारऔंले लगौंटी लगाइरहने जयरामलाई ५ माघमा भने छिमेकीले कट्टु लगाइदिएका थिए । होइन शरीरको माथिल्लो भाग ढाक्न खुइलिएको निलो कमिज लगाइदिएका थिए ।

जयरामले लक्ष्मीभन्दा पहिला पनि एक महिलासँग विवाह गरेका थिए । सन्तान नभएपछि ती महिला गाउँकै अर्के पुरुषसँग विवाह गरेर गएकी थिइन् । उनले छोडेपछि ५१ वर्षको उमेरमा उनले लक्ष्मीसँग विवाह गरेका थिए । उनीबाट पनि जयराम सन्तान जन्मेनन् । यी चेपाङ दम्पतीको रेखदेख भतिजा नाता पर्ने कोकिल चेपाङले गर्दै आएका छन् । चेपाङ दम्पतीले सामाजिक सुरक्षा भत्ताबाट खर्च चलाइरहेका छन् । ‘वृद्धभत्ताले यिनीहरूलाई बचाएको छ,’ छिमेकी नरबहादुर चेपाङले भने, ‘पुग–अपुगमा कोकिल चेपाङले भरथेग गरेको छ ।’

३ लाख ७ हजार रुपैयाँमा निर्माण गरिएको नवनिर्मित घरमा सोलार पनि जोडिएको छ । पिउने पानीको धारा र पक्की शौचालय पनि निर्माण गरिएको छ । उनीहरूलाई अभियन्ता रेखा लोप्चन तामाङले नगद २ लाख ४२ हजार रुपैयाँ थप खर्चका लागि उपलब्ध गराएकी छिन् । चेपाङ समुदायको मात्र बसोबास रहेको मनहरी बजारबाट हिँडेर २ घन्टामा पुगिने उक्त बस्तीमा सरकारको जनता आवास कार्यक्रमअन्तर्गत भवनहरू निर्माणाधीन अवस्थामा भए पनि आफ्नो नाममा जग्गाको स्वामित्व नभएकाले उनीहरू उक्त कार्यक्रमबाट बन्चित थिए ।

जनता आवास कार्यक्रमको कार्यविधि गरिब र विपन्नमुखी नभएकाले कार्यविधि नै संशोधन गर्नुपर्ने पूर्वमन्त्री झाँक्रीले बताइन् । उनले भनिन्, ‘भूमि आयोगहरू बन्छन् । तर चेपाङ, राउटे, वनकरियाजस्ता सीमान्तकृत र लोपोन्मुख समुदायका समस्या हल गर्दैन । जनता आवासको कार्यविधि नै संशोधन गर्न आवश्यक छ ।’ मकवानपुरको राक्सिाराङ चेपाङ समुदाय बाहुल्य भएको पालिका हो । २०७८ को जनगणना अनुसार मुलुकका २६ जिल्लामा बसोबास रहेको चेपाङ समुदायको जनसंख्या ८४ हजार ३ सय ६४ छ । मकवानपुरमा २३ हजार ६ सय ५०, चितवनमा ३५ हजार ६ सय ३७, धादिङमा १७ हजार १ सय ६० र गोरखामा ४ हजार २ सय ६८ जनसंख्या छ ।

पालिका प्रेस
थप जानकारी