महोत्तरी जिल्लाको भंगहा नगरपालिकामा नेपाल सरकारले विगत डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा पालिकाको विकास निर्माणका साथै सम्पूर्ण आर्थिक प्रशासनिक र दैनिक कामकाज प्रभावित भएपछि भंगहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले पालिकाको सबै शाखा तथा सबै वडा कार्यालयमा तालाबन्दी गरेर जिल्ला प्रशासन कार्यालयका पुगी प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई सबै साँचो बुझाउँदै । तस्बिरः सञ्जीतकुमार मण्डल/रासस

प्रमुख प्रशासकीय अधिकृत पठाउन मन्त्रालयले चासो नदेखाएको भन्दै महोत्तरीको भँगहा नगरपालिकाका मेयर संजिव साहले नगरपालिकाको साँचो सीडीओलाई थमाएका छन् ।

मेयर साहले नगरपालिका र वडा कार्यालयहरूमा तालाबन्दी गरेर साँचो महोत्तरीका सीडीओ लालबाबु कवारीलाई बुझाएका हुन् । साँचो बुझाउन मेयर साहसँगै वडाध्यक्षसहितका जनप्रतिनिधि जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रशासकीय अधिकृत लामो समयदेखि नहुँदा प्रशासनिक काम र विकास निर्माणको कामहरू समेत अलपत्र परेको साहले बताए ।

उनले भने, ‘मन्त्रालयलाई पटक पटक ताकेता गरे । तर, प्रशासकीय अधिकृत पठाउन चासो पनि देखाइएन । सम्पूर्ण कामकाज रोकिएपछि कार्यालय खोलेर के काम ? बन्द गरेर साँचो सीडीओ साहेबलाई बुझाएका छौं ।’ सामान्य प्रशासन मन्त्रालयले गत माघ ९ मा कनिष्ठलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेको भन्दै विजयकुमार यादवको जिम्मेवारी खोसेर आठौं तहका लेखा अधिकृत रामसागर यादवलाई निमित्तको जिम्मेवारी तोकेको थियो ।

फागुन ४ मा मन्त्रालयले उपसचिव होमप्रसाद घिमिरेलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाएको थियो । तर, हालसम्म घिमिरे हाजिर हुन नआएको मेयर साह बताउँछन् ।

उनका अनुसार नगरपालिका प्रशासकीय अधिकृत विहीन हुँदा मेला महोत्सव, उपचार छुट सिफारिस, टेण्डर प्रक्रिया र विकास निर्माणसहितका कार्य प्रभावित भएको छ । अधिकृत नआएसम्म नगरपालिका बन्द राख्ने उनको भनाइ छ ।

पालिका प्रेस
थप जानकारी