बागमती प्रदेश सरकारले नयाँवर्ष २०८२ मा ४ दिन सार्वजनिक बिदा थप्ने भएको छ । बागमती प्रदेशको १८ चैत्रमा अपरान्ह मन्त्रिपरिषद बैठकले नेपाल सरकारले निर्णय गरेका बाहेक थप ४ दिन बिदा दिने भएको हो ।

विगतमा प्रदेश सरकारले दिँदै आएको सार्वजनिक बिदालाई क्यालेण्डरमा नै जनाउने गरी नेपाल सरकारले दिने बिदाबाहेक ४ दिनको बिदा थप गरिएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । निर्णयसँगै विगतमा पर्व र दिवस विषेशमा बिदा दिन मन्त्रिपरिषद बैठक बस्नुपर्ने अवस्था नरहने उनले बताए । मन्त्री लामिछानेका अनुसार प्रदेश सरकारले प्रदेश कामकाजी भाषा ऐन कार्यान्वयन भएको दिन (बैशाख २४ गते), गाइजात्राको दिन साउन २५ गते, चेपाङ समुदायको न्वागी भदौ २२ गते र माझी समुदायको लदीपर्व फागुन १९ गतेका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

मन्त्रिपरिषदले गरेको निर्णय राजपत्रमा प्रकाशित गरेपछि कार्यान्वयनको चरणमा अघि बढ्नेसमेत उनले बताए । बागमती प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा लागु हुने मन्त्री लामिछानेले बताए । विगतमा प्रदेश सरकारले विभिन्न पर्व र अवसरमा ६ दिन मन्त्रिपरिषद बैठकले निर्णय गरी बिदा दिने गरिएको थियो ।

पालिका प्रेस
थप जानकारी