हेटौंडा उपमहानगरपालिका क्षेत्रमा फोहोर मैला संकलन र व्यवस्थापनमा खटिने कर्मचारीहरुलाई पहिलोपटक सामाजिक सुरक्षा कोषमा आवद्ध गराइएको छ । हेटौंडा उपमहानगर पालिकासँगको साझेदारीमा ग्रीन एण्ड क्लिन सिटी सर्भिस प्रालिले यस कार्यमा संलग्न ५३ जना कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको हो ।
हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा बिहीबार आयोजित कार्यक्रममा सफाईक्षेत्रमा कार्यरत कर्मचारीलाई कोषमा समावेश गरिएको थियो । कार्यक्रममा नगर प्रमुख लामाले फोहोरमैला संकलन गर्ने काम कठिन र जोखिमपूर्ण हुने भएकाले कर्मचारीको सामाजिक सुरक्षा सुनिश्चित गर्नु उपमहानगरको दायित्व भएको बताइन् । उनले स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिदै सुरक्षाका उपाय अपनाएर मात्रै कार्यमा खटिन सफाई कर्मचारीलाई सुझाव दिइन् ।
फोहोरमैला व्यवस्थापन संघका सल्लाहकार प्राध्यापक डा. आशिष खनालले सफाईक्षेत्रमा कार्यरत कर्मचारीलाई शतप्रतिशत सामाजिक सुरक्षा कोषमा आवद्ध गरिएको पहिलोपटक भएको बताएका छन् । उनले देशभर करिब ७० भन्दा बढी संस्था यसक्षेत्रमा सक्रिय भएपनि सम्पूर्ण कर्मचारीलाई एकैपटक कोषमा आवद्ध गराइएको यो पहिलो भएको दाबी गरे । उनले फोहोर मैला व्यवस्थापन ऐन संशोधन गरी केन्द्र, प्रदेश र स्थानीय तहको अधिकार स्पष्ट पार्नुपर्ने आवश्यकता औंल्याए । ग्रीन एण्ड क्लिन सिटी सर्भिस प्रालिका अध्यक्ष नवराज खतिवडाले सामाजिक सुरक्षा कोषमा आवद्धताले कर्मचारीको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । उनले स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिएर आगामी दिनमा निःशुल्क स्वास्थ्य बीमा गर्ने तयारी भइरहेको जानकारी दिए ।
हेटौंडाको फोहोर व्यवस्थापनलाई अझ व्यवस्थित बनाउन भैरवडाँडामा २१ कठ्ठा जग्गा भाडामा लिएर कम्पोष्ट प्लान्ट सञ्चालनको तयारी गरिनुका साथै हेटौंडा–१ चौकीटोलमा वेस्ट डेमो सेन्टर निर्माण गर्न ५ कठ्ठा जमिन भाडामा लिइएको जानकारी दिए । प्रालिले २०६२ सालदेखि नै उपमहानगरपालिकासँगको साझेदारीमा काम गर्दै आएको छ

















































पालिका प्रेस 














प्रतिक्रिया दिनुहोस्