गाउँ कार्यपालिकाको अध्यक्ष, उपाध्यक्ष वा नगर कार्यपालिकाको प्रमुख, उपप्रमुख पदमा उम्मेदवार दिन चाहने व्यक्तिले नागरिकता, त्यही स्थानीय तहको मतदाता भएको निस्सा, स्थानीय तहको कुनै वडाको मतदाता नामावलीमा नाम रहेका एक जना प्रस्तावक र एक जना समर्थकसहित मनोनयन पत्र पेस गर्नुपर्ने हुन्छ । निस्सा भनेको निर्वाचन अधिकृतको कार्यालयबाट लिएको मतदाता नामावलीको उतार हो । यदि उम्मेदवारले मतदाता परिचयपत्र बुझाए पनि हुन्छ । उनीहरूले १ हजार ५ सय धरौटी जम्मा गरेको रसिद पनि पेस गर्नुपर्ने हुन्छ । महिला, दलित र अल्पसंख्यकले भने धरौटीबापत ७ सय ५० रुपैयाँ मात्रै बुझाए पनि हुन्छ ।
धरौटी छुट पाउनका लागि आर्थिक रूपले विपन्न व्यक्ति भएमा वार्षिक पारिवारिक आय ५० हजार रुपैयाँभन्दा कम भएको स्थानीय तहले गरेको सिफारिस पेस गर्नुपर्ने हुन्छ । दलको उम्मेदवार भएर मनोनयन दर्ता गर्ने हो भने दलले प्रदान गरेको औपचारिक पत्र नै पेस गर्नुपर्ने हुन्छ । दलका तर्फबाट उम्मेदवारीको औपचारिक पत्र दिन अधिकार पाएको पदाधिकारीले हस्ताक्षर गरेको हुनुपर्छ ।
निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न नै दलहरूले निर्वाचन आयोगमा हस्ताक्षरको नमुना बुझाएको हुन्छ । त्यही हस्ताक्षर भएको पत्र मनोनयनमा पेस गर्नुपर्ने हुन्छ । उम्मेदवारी दिँदा संघ, प्रदेश र स्थानीय तहमा वा यसको स्वामित्वमा रहेको संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा पनि पेस गर्नुपर्ने हुन्छ । स्थानीय तहमा अहिले बहाल छ भने पनि राजीनामा दिएको हुनुपर्ने अदालतले आदेश दिइसकेको छ । उम्मेदवारले आफैं कतै पनि संलग्न नभएको स्वघोषणा नै गर्नुपर्ने हुन्छ । वारेसमार्फत मनोनयन पत्र दर्ता गराउन पनि मिल्छ तर वारेसनामा पेस गर्नुपर्छ । गाउँपालिका र नगरपालिकाको वडाध्यक्ष, वडा सदस्य पदको लागि पनि मनोनयन गर्दा यही प्रक्रिया हो । धरौटी भने कम छ । वडाध्यक्षको उम्मेदवारले एक हजार र वडा सदस्यले ५ सय पेस गरे हुन्छ । महिला, दलित र विपन्नले २ सय ५० मात्रै तिरे हुन्छ ।



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्