राष्ट्रिय जनमोर्चाका थाहानगर प्रमुख (मेयर) का उमेद्वार शुभराज गोलले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् । मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ३ मा मात्र वडा अध्यक्ष पदमा उमेद्वारी दर्ता गराएको राष्ट्रिय जनमोर्चाका मेयरका उमेद्वार गोलेले प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।
प्रतिवद्धता पत्रमा स–साना प्रभावकारी योजनासहित महत्वकांक्षी योजनाहरु समेत उमेद्वार गोलेले समेटेका छन् । गोलेले आफ्नो प्रतिवद्धता पत्रमा चन्द्रागिरी भालेश्वरदेखि टिष्टुङको मनकामना मूलाबारी (राष्ट्रिय विभूति पार्क) हुँदै ऋषेश्वर दामनसम्म केवलकार संचालन गरी थाहानगरको धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उल्लेख गरेका छन् । प्रसिद्ध ऋषेश्वर क्षेत्रमा व्यवस्थित योग साधना केन्द्र बनाउने राष्ट्रिय जनमोर्चाले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
नगरमा लगानी मात्र नभई आम्दानीको स्रोतको समेत राष्ट्रिय जनमोर्चाले खोजी गरेको छ । यसका लागि धार्मिक क्षेत्र ऋषेश्वरको पानीलाई प्रशोधन गरेर अन्तराष्ट्रिय बजारमा निर्यात गरी आन्तरिक राजश्व बढाउने प्रतिवद्धता पत्रमा लेखिएको छ ।
थाहानगरमा साहसी पर्यटन अन्तर्गत जीपलाइन, रक क्लाइमिङ, प्याराग्लाइडिङ जस्ता पर्यटक आकर्षित गर्ने खेल क्षेत्रको स्थापना गर्ने, फलफूल तथा तरकारी पकेट क्षेत्रको विकास गर्ने, मलबीउलाई सुपथ मुल्यमा उपलब्ध गराउने प्रतिवद्धता राष्ट्रिय जनमोर्चाको रहेको छ । उत्पादक र उपभोक्ताबीच सिधा सम्पर्क गराई विचौलियाको अन्त्य गर्ने पनि राष्ट्रिय जनमोर्चा थाहानगरको योजना रहेको छ । अधिकांश तरकारी खेती हुने थाहानगरका किसानहरुका लागि सहज सिंचाइको व्यवस्था गर्ने, कृषि बीमा (पशु÷बाली) सहज र सर्वसुलभ बनाई प्रोत्साहन गर्ने राष्ट्रिय जनमोर्चाको चुनावी प्रतिवद्धता रहेको छ । कृषिमा यान्त्रिकरण गर्दै ‘एक घर, एक आधुनिक कृषि यन्त्र’ व्यवस्था गर्ने पनि राष्ट्रिय जनमोर्चाको प्रतिवद्धता रहेको छ ।
थाहानगरमा निःशुल्क प्राविधिक तथा गुणस्तरीय शिक्षामा जोड दिने, नगर भरीबाट वार्षिक रुपमा कम्तिमा ५ जना जेहेन्दार विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने योजना छ ।
नगरमा कम्तिमा १ वटा ‘क’ वर्गको एम्बुलेन्स सहित एक वडा एक एम्बुलेन्स संचालन गर्ने, निःशुल्क औषधि वितरणलाई व्यवस्थित र सबैको पहुँचमा पु¥याउने प्रतिवद्धता पत्रमा उल्लेख छ । नगरमा ५० शैया अस्पताल संचालनमा जोड दिने, नगरका सबै स्वास्थ्य संस्थाहरुलाई भौतिक तथा प्रशासनिक रुपमा व्यवस्थित गर्ने प्रतिवद्धता छ । नागरिकहरुलाई सहजै स्वास्थ्य सेवा प्रवाहका लागि प्रत्येक वर्ष निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने पनि प्रतिवद्धता पत्रमा लेखिएको छ ।
पालिका क्षेत्रमा खानेपानी सुविधा प्रदान गर्नका लागि ‘एक घर, एक धारा’ पु¥याउने उमेद्वार गोलेको योजना छ । संघीय सरकारले वितरण गर्ने सामाजिक सुरक्षा भत्तालाई घरघरमै पु¥याउने व्यवस्था मिलाउने, प्रत्येक वर्ष ज्येष्ठ नागरिक सम्मान गर्ने पनि प्रतिवद्धता पत्रमा समेटिएको छ । नगरस्तरीय महिला तथा बालबालिका सञ्जाल निर्माण गर्ने र उनीहरुको हक अधिकार सम्बन्धी चेतना अभिवृद्धि गर्ने खालका कार्यक्रम संचालन गरिने जनाइएको छ । गर्भवती महिलालाई पौष्टिक आहार तथा सुत्केरी भत्ताको बढाउने पनि प्रतिवद्धता छ ।
प्रत्येक विद्यालयमा निःशुल्क स्यानेटरी प्याड वितरण गर्ने र महिलाहरुलाई स्यानेटरी प्याड निर्माण तालिम दिने, दलित तथा जनजातिहरुको अधिकारका लागि सुनिश्चितता गर्ने, एक वडा एक खेल मैदान निर्माण गर्ने र भौगोलिक अवस्था अनुसार बाल उद्यान निर्माण गर्ने तथा इन्द्रायणी खेल मैदानलाई प्याराफिटसहित व्यवस्थित गर्ने प्रतिवद्धता छ ।
थाहानगरमा ‘एक घर, एक उद्यमी’ अभियान संचालन गर्ने, प्रमुख बजारहरुमा सिसिटिभी जडान गरी सुरक्षा प्रणालीलाई व्यवस्थित गर्ने, नगरको प्राकृतिक प्रकोप क्षेत्रमा भूक्षय रोकथाम चट्याङ प्रतिरोधी (अर्थिङ) तथा पूर्व सूचना प्रणाली जडान गर्ने राष्ट्रिय जनमोर्चाको प्रतिवद्धता रहेको छ । नगर क्षेत्रमा कला तथा साहित्य क्षेत्रमा विकासको लागि ठोस नीति लिइने, आदिवासी जनजातिको संसकृति र भाषाको जगेर्ना गर्नका लागि संग्राहलय स्थापना गर्ने राष्ट्रिय जनमोर्चाको स्थानीय तह सदस्य निर्वाचन प्रतिवद्धता पत्रमा उल्लेख छ ।
मेयरका उमेद्वार शुभराज गोलेले आफ्नो प्रतिवद्धता पूरा गर्नका लागि आफुलाई मतदान गर्न आग्रह समेत गरेका छन् । उनी मकवानपुरमै राष्ट्रिय जनमोर्चाबाट मेयर पदमा उमेद्वारी दिने एक्ला उमेद्वार हुन् ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्