थाहा नगरपालिकाले लोपोन्मुख असला जातको १० हजार माछाका भुरा खोलामा छाडेको छ । विश्व वातावरण दिवसको अवसरमा थाहा नगरपालिकाले माछाको भुरा छोडेको हो ।

२४ जेठमा थाहानगरको थानाबजारको पालुङ खोला, शिखरकोटको ऋषेश्वर खोला र घर्तिखोलाको दम्कीको विभिन्न स्थानमा माछाका भुरा छाडिएको नगरको सामाजिक विकास शाखा प्रमुख अनिल लामछानेले जानकारी दिए । कार्यक्रममा नगरप्रमुख विष्णु बहादुर विष्ट, वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझी, सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने, नेपाली काँग्रेस नगर सभापति प्रमोद कृष्ण जोशी, एमाले थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधान, ईलाका प्रहरी कार्यालय पालुङका टोली, नगर प्रहरीको टोली लगायतको सहभागिता थियो ।

सो अवसरमा नगरप्रमुख बिष्टले पर्यावरण र जैविक विविधताको संरक्षणका खोलामा रैथाने असला माछा छाडिएको प्रतिक्रिया दिए । नगर प्रमुख बिष्टका अनुसार खोलाको संरक्षण गर्ने सबै नगरबासीको दायित्व भएकाले यस अभियानमा सबैको साथ रहने विश्वास व्यक्त गरे । खोलामा करेन्ट लगाएर तथा बिष हालेर माछा मार्ने क्रमलाई रोक्न सम्बन्धित वडा, स्थानीय र प्रशासनसंग परामर्श गरेर अगाडि बढ्ने नगर प्रमुख विष्टको भनाई छ ।

करेन्ट र विषादीको प्रयोगबिना परम्परागत तथा स्थानीय जातका उक्त खोलामा माछा संरक्षण गरी आम्दानीको स्रोत बढाउन सकिए नगरका अन्य खोलामा पनि माछाका भुरा छोडिने योजना बनाइएको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए । हाल छाडिएको माछा छोडिएको खोला वरपर कुनै पनि तरीकाबाट दुई वर्षसम्म माछा मार्न बन्देज लगाइएको नगरपालिकाले जनाएको छ।

जलचर संरक्षण ऐन अनुसार निषेध गरिएको क्षेत्रमा जलचर मारेमा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुने कानूनी व्यवस्था छ ।

पालिका प्रेस
थप जानकारी