मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ जुरेथुमस्थित जगरघारी जंगलमा एक पुरुषको शव फेला परेको छ।
स्थानीय बासिन्दाले २६ असार दिउँसो करिब १ः१५ बजेतिर जंगलमा शव देखेपछि सिमभन्ज्याङ प्रहरी चौकीलाई खबर गरेका थिए । सूचना प्राप्त भएलगतै प्रहरी चौकी सिमभन्ज्याङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । शवको सम्बन्धमा अनुसन्धान तथा कानुनी प्रकृयाका लागि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिन बाबु अर्यालको नेतृत्वमा टोली जगरघारी पुगेको थियो ।
प्रहरीका अनुसार शवको नाम, थर र वतन खुल्न सकेको छैन । शव पूर्ण रूपमा सडेको र गलेको तथा उत्तानो परेको अवस्थामा थियो । घटनास्थल नजिकै करिब ५–७ मिटर दूरीमा निलो ट्राउजर, कालो अण्डरवेयर र सेतो धर्का भएको सर्ट फेला परेको छ। त्यसैगरी घटनास्थलबाट करिब २००–३०० मिटर टाढा एक जोर चप्पल पनि भेटिएको पालुङ प्रहरीले जनाएको छ।
शवको पहिचान खुल्न नसकेकाले अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रकृयासहित मुचुल्का तयार पार्ने कार्य भएको प्रहरीले जनाएको छ । अहिलेसम्म मृत्युको कारणबारे यकिन खुल्न सकेको छैन भने शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्