मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ किटेनीस्थित बलराम के.सी. र बासुदेव के.सी.को घरमा दिनदहाडै चोरीको घटना घटेको छ। २२ असार दिउँसो २ बजेदेखि ३ बजेको बीचको समयमा घरमा कोही नभएको मौका छोप्दै मुलढोकाको ताला फोडेर नगद १ लाख ५ हजार नगद सहित मोबाईल, खुकुरी समेतको जिन्सी चोरी भएको हो।
घटना सम्बन्धमा स्थानीयबासी र छरछिमेकले दिएको जानकारीका आधारमा शंका गरिएका तीन जना व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चोरीपछि फरार अवस्थामा रहेका उनीहरूलाई सोही दिन पक्राउ गरिएपछि गरिएको र शरीर तलासीमा चोरीसंग सम्बन्धित विभिन्न सामग्रीहरू फेला परेका छन् । पक्राउ पर्नेहरूमा सर्लाही हरिवन नगरपालिका–९ बस्ने ३० वर्षीय संजिव परियार, मकवानपुर थाहा नगरपालिका–२ देउलाटोल बस्ने करिब ३५ वर्षीय कान्छा उर्फ प्रदीप पोडे र ललितपुर गोदावरी नगरपालिका–१३ झरासी बस्ने करिब ३० वर्षीय चमार भन्ने बिमल नेपाली रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट नगद ६८,९ सय ३१ रुपैयाँ विभिन्न कम्पनीका ५ थान मोबाइल एनसीएल सिमकार्ड १ थान सुनजस्तो देखिने पहेँलो धातुको औंठी १ थान खुकुरी, कटर चक्कु, एअरबोर्ट, घडी, मूर्ति, विडलगायतका अन्य सामग्री फेला पारेको छ ।
पीडित बलराम के.सी. र बासुदेव के.सी.ले ईलाका प्रहरी कार्यालय पालुङमा छुट्टाछुट्टै जाहेरी दिएपछि चोरी तथा डाँका सम्बन्धी कसूरमा मुद्धा दर्ता गरिएको छ । पक्राउ परेका तीनै जनालाई मकवानपुर जिल्ला अदालतबाट आठ दिनको म्याद थप गराई थप अनुसन्धान कार्य भइरहेको ईलाका प्रहरी कार्यालयका प्रमुख सविन बाबू अर्यालले बताए ।



















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्