माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा हेटौंडा उपमहानगरका ५८ दशमलब १९ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । परीक्षामा सहभागी ३ हजार ३ सय ११ मध्ये २ हजार ४५ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । एसईईमा हेटौंडाका ४ वटा संस्थागत विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन् ।
थाहा नगरपालिकाका संस्थागत र सामुदायिक विद्यालयबाट एसईईमा ४४ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । नगरपालिकामा रहेका ६ वटा संस्थागत र ११ वटा सामुदायिक विद्यालयबाट ४ सय ९५ जना विद्यार्थीले परीक्षा दिएकोमा २ सय १७ जना उत्तीर्ण भएका हुन् । पालुङ मोर्डन इङ्लिस स्कूलका ४ जना विद्यार्थीले परीक्षा दिएकोमा सबै उत्तीर्ण भएका छन् । थाहा नगरकै सुन्दरीदेवी माविका साधारण धारतर्फबाट १९ जना विद्यार्थीले एसईई दिएकोमा सबै अनुत्तीर्ण भएका छन् । सुन्दरीदेवीबाट १७ जनाले प्राविधिक धारतर्फको परीक्षा दिएकोमा एकजनामात्र उत्तीर्ण भएका छन् । नगरका विद्यालयमध्ये सबैभन्दा बढी विद्यार्थी एसईईमा सहभागी गराएको बागेश्वरी माविबाट १५ जना विद्यार्थी ग्रेडेड भएका छन् । बागेश्वरी माविबाट ६९ जना विद्यार्थीले एसईई दिएका थिए ।
यसैगरी बागमती गाउँपालिकामा ४६ जना विद्यार्थी ग्रेडेड भएका छन् । पालिकामा ५ वटा विद्यालयबाट परीक्षामा सहभागी भएका २ सय ७७ जना विद्यार्थीमध्ये ४६ जना अर्थात् १६ दशमलब ६१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।
राक्सिराङ गाउँपालिकामा ६ वटा विद्यालयबाट १२ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । ६ दमलब ४५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा राक्सिराङका ६ मध्ये ३ वटा विद्यालयको नतीजा निल आएको छ ।
इन्द्रसरोवर गाउँपालिकामा ३८ जना विद्यार्थी एसईईमा उत्तीर्ण भएका छन् । पालिकाका ६ वटा विद्यालयबाट परीक्षामा सहभागी १ सय ५ जना विद्यार्थीमध्ये ३८ विद्यार्थी उत्तीर्ण भएका हुन् । यस अनुसार ३६.१९ प्रतिशत विद्यार्थी ग्रेडेड भएको छ । गतवर्ष इन्द्रसरोवर गाउँपालिकाबाट ८४ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा १४ जना उत्तीर्ण भएका थिए । इन्द्रसरोवर गाउँपालिकामा यस वर्ष एसईईमा सहभागी सरस्वती बालबोधिनी माविका १२ मध्ये १०, पन्चकन्या माविका १८ मध्ये ३, वत्सलादेवी माविका १९ मध्ये ५, कालिका माविका ११ मध्ये ६, महाचुनी माविका २३ मध्ये ११ र कालीदेवी माविका २२ मध्ये ३ जना उत्तीर्ण भएका छन् ।
यसैगरी कैलाश गाउँपालिकामा ४५ जना विद्यार्थी एसईईमा उत्तीर्ण भएका छन् । पालिकामा ६ वटा विद्यालयबाट परीक्षामा सहभागी भएका १ सय ६१ विद्यार्थीमध्ये ४५ जना एवम् २७ दशमलब ९५ प्रतिशत विद्यार्थी उत्र्तीण भएका हुन् । गतवर्ष कैलाश गाउँपालिकाबाट १ सय ९९ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा ११ जना (५.५२ प्रशित) उत्तीर्ण भएका थिए ।
मनहरी गाउँपालिकाबाट परीक्षामा सहभागी भएका ४ सय २९ विद्यार्थीमध्ये एक सय ४२ जना अर्थात ३३.१० प्रतिशत उत्तीर्ण भएका छन् । गाउँपालिकाले सार्वजनिक गरेको विद्यालयको नतिजा विवरणअुनसार ३.६ देखि ४ जीपीएसम्म नतिजा ल्याउने विद्यार्थी ३ जना छन् ।
मकवानपुरगढी गाउँपालिकामा ४३ दशमलब ६६ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । गाउँपालिकामा १० विद्यालयबाट एसईईमा सहभागी २ सय १३ जना विद्यार्थीमध्ये ९३ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
बकैया गाउँपालिकाका १८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण (ग्रेडेड) भएका छन् । बकैयाका १२ वटा विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुँदा २ वटा विद्यालयका एकजना विद्यार्थी पनि उत्तीर्ण भएनन् । बकैयाका १२ विद्यालयका ४ सय ११ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा ७४ जना (१८ प्रतिशत) विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।
यसैगरी भीमफेदी गाउँपालिकामा २३ दशमलब ४ प्रतिशत विद्यार्थी मात्रै ग्रेडेड भएका छन् । गाउँपालिकाको अनुसार एसईईमा सहभागी १ सय ९६ जना विद्यार्थीमध्ये ४६ जना मात्रै उत्तीर्ण भएका छन् ।















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्