तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्ने तयारी गरिएको छ । नगरपालिकाले सञ्चालन गरेको हरियाली प्रवर्द्धन एवं सरसफाइ अभियानको सयौँ शृङ्खलाको अवसरमा यही चैत १ गते तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्न लागिएको हो ।
नगरपालिकाले २०७४ साउन ६ गते सुरु गरेको समुदायमा आधारित साप्ताहिक हरियाली प्रवर्द्धन एवं सरसफाइ अभियान चैत १ गते एक सयौँ शृङ्खला पुग्दैछ । नगरपालिकामा हुने ध्वनि प्रदूषणलाई नियन्त्रण गर्न त्यस्तो घोषणा गर्न लागिएको नगरप्रमुख रामकृष्ण खाणले जानकारी गराए।
त्यस्तै, मणिग्राम चोकमा निर्माण गरिएको सयौँ शृङ्खलाको स्मारक उद्घाटन तथा साँझ नगरपालिकाको कार्यालयमा दीपावली गरिने नगरप्रमुख खाणले बताए। अभियानको सयौँ शृङ्खला पुग्ने दिन चैत १ गते मुख्य कार्यक्रमको आयोजना गरिनेछ । जसमा झाँकी प्रदर्शन तथा सम्मान, नो हर्न नगरपालिका घोषणा तथा त्यसै दिनदेखि नगरपालिकामा उत्पादन हुने कुहिने र नकुहिने फोहोर अलग अलग उठाउन सुरु गरिनेछ । त्यसका लागि जनचेतना अभिवृद्धि गर्न सबै वडामा आफ्नो घर, आँगन, चोक, टोल, सडक, व्यावसायिक प्रतिष्ठान, कार्यालय तथा सार्वजनिक स्थानमा सघन सरसफाइ गर्न नगरवासीलाई अनुरोध गरिएको उपप्रमुख जागेश्वरीदेवी चौधरीले जानकारी दिइन्।
नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले बालमैत्री नगरपालिका र सरसफाइ अभियानका कारण तिलोत्तमा अरू नगरपालिकाभन्दा अगाडि रहेको दाबी गरे। नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नारायण अर्याल र कार्यपालिका सदस्य सुरेन्द्र श्रीले हरियाली प्रवर्द्धन एवं सरसफाइ अभियानका बारेमा प्रस्ट्याएका थिए।
















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्