तीन वर्षदेखि मेचीनगर नगरपालिका कार्यालयले खानेपानीको बक्यौता महसुल नतिरेका कारण नगरपालिका कार्यालयको खानेपानीको धारा काटिएको छ । धारा काटिएपछि मेचीनगर नगरपालिकाको कार्यालय परिसरमा रहेको नगर प्रहरी र वारुण यन्त्रका कर्मचारीलाई खानेपानीको असुविधा भएको नगरका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले बताए । उनले नगरपालिका प्रशासनलाई नसोधी खानेपानीका प्राविधिकले पानीको धारा काटिदिएको गुनासो गरे ।

‘एउटा सरकारी कार्यालयको खानेपानीको धारा यसरी अचानक काटिँदा अचम्म लाग्यो, हामी कार्यालयमै थियौँ, एक शब्द सोधिएन’, उनले भने । काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुलीले तीन वर्षदेखि नगरपालिकाले खानेपानीको बक्यौता नतिरेपछि बाध्य भएर धारा काट्नु परेको बताए ।

उनका अनुसार नगरपालिकाको बक्यौता छ लाखभन्दा बढी भइसकेको र यसबीचमा पटक पटक महसुल तिर्नका लागि ताकेता पत्राचार गरिएको थियो । ‘उपभोक्तालाई लाग्ने कानुन र नियम भनेको एउटै हुनुपर्छ, धेरै पटक समन्वयका लागि पहल गर्र्यौं, तर नगर प्रशासनले बेवास्ता गरेपछि धारा काटेका हौँ’, समितिका अध्यक्ष पराजुलीले भने । मेचीनगर नगरपालिकाले खानेपानीको १४ धारा प्रयोग गरिरहेको संस्थाले जनाएको छ ।

अध्यक्ष पराजुलीले शुक्रबार दुई वटा धारा काटिएको र अरु १२ वटा धारा पनि काट्ने तयारी भइरहेको जानकारी दिए । नगरपालिकाले भने खानेपानीको बक्यौता छिट्टै भुक्तानी गरिने जनाएको छ । संस्थाले नगरपालिकाको वडा नं ६ लाई सरसफाइका लागि भाडामा दिइएको ट्र्याक्टरको छ महिनादेखिको भाडासमेत भुक्तानी नपाएको जनाएको छ । हरेक ट्रिपको एक हजार आठ सय भाडा तिर्ने वडासँग सम्झौता भएकामा वडा कार्यालयको भुक्तानीसमेत नगरपालिकाबाट नदिइएको संस्थाका अध्यक्ष पराजुलीले बताए । उनले खानेपानी महसुल बुझाउन अटेर गर्ने कार्यालय र उपभोक्ताको धारा काट्ने अभियान सुरु गरिएको बताए ।

‘लामो अवधिदेखि महसुल नबुझाएका तीन दर्जन सङ्घसंस्थाको यसै साता धारा काटिदिएको छ’, अध्यक्ष पराजुलीले भने ।

पालिका प्रेस
थप जानकारी