फोटो सौजन्यः मञ्जुर गोपाली

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ को वज्रवाराही मन्दिरको संरक्षण र प्रवर्धन जनस्तरबाट गरिने भएको छ । वज्रवाराही मन्दिर जाने सिँढी मर्मतसँगै मन्दिर परिसरको जीर्णोद्धारपछि नयाँ मूर्ति प्रतिस्थापनसँगै मन्दिरसम्म पुग्ने सिँढी जनस्तरबाट निर्माण गर्न लागिएको हो ।

वज्रवाराही मन्दिर जाने सिँढी मर्मत र मन्दिरपरिसरको जीर्णोद्धार कार्य थाहा नगरपालिका–६ को कार्यालयको बजेट तथा नेवाः पुचः, वज्रवाराही र स्थानीय समाजसेवी नारायणबहादुर जोशीको सहयोगसहित करिब ४० लाख रुपियाँको लागतमा गरिएको थियो । पहिले नमिलेको वज्रवाराही मन्दिर जाने सिँढी इन्जिनियरसमेत ल्याएर मर्मत गर्न समाजसेवी नारायणबहादुर जोशीले मात्र झन्डै ३० लाख रुपियाँ खर्चेको थाहा नगरपालिका–६ का वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठले जानकारी दिए ।

वडाध्यक्ष श्रेष्ठले मन्दिर क्षेत्रलाई धार्मिक महत्वको पर्यटकीय गन्तव्य स्थल बनाउने गरी विस्तृत परियोजना प्रस्ताव (डिपिआर) अनुसार नयाँ संरचना बनाउने तयारी थालेको बताए । डिपिआर अनुसार हाल मन्दिर रहेको स्थानसँगैको वज्रवाराही मन्दिरको नाममा रहेको वज्रवाराही वनको टुप्पोमा मूर्ति प्रतिस्थापन र मन्दिरसम्म पुग्ने सिँढी निर्माण गरिने भएको छ । मूर्ति प्रतिस्थापन र मन्दिरसम्म पुग्ने सिँढी निर्माणका लागि करिब डेढ करोड रुपियाँको लागत अनुमान गरिएको छ । हाल मन्दिर फेदीमा रहेको र टुप्पोमा मन्दिर थियो भन्ने विश्वास र आस्थाका साथ पुज्ने गरिन्छ । ८० फिट अग्लो मूर्ति राख्नेसँगै मन्दिरसम्म पुग्न ८०६ वटा सिँढी निर्माण गर्ने तयारी गरिएको छ । “हाल माटोको सिँढी रहेकोमा अब ढलान गरेर लैजाने तयारीमा छौँ,” वडाध्यक्ष श्रेष्ठले भने, “जंगलको टुप्पोसम्म पुग्ने सिँढी भने एक घर–एक सिँढीको अवधारणामा बनाउने छौँ ।”

उनले एउटा सिँढी बनाउन पाँच÷छ हजार रुपियाँ लाग्ने अनुमान गरिएको र निर्माण सामग्री ढुवानी खर्च बढी भएकाले लागत बढी भएको जानकारी दिए । वज्रवाराही वनको डाँडाको टुप्पोमा प्रतिस्थापन गरिने मूर्तिका लागि प्रदेश र स्थानीय सरकारलाई साझेदारीका लागि आग्रह गरिने बताउँदै उनले थप संरचना निर्माणपछि त्यस क्षेत्रको गतिविधि बढ्ने बताए । स्थानीय प्रमोद जोशीका अनुसार हाल वज्रवाराही वनको फेदीमा रहेको वज्रवाराही मन्दिर पहिले वज्रवाराही वनको टुप्पोमा रहेको र गुडेर आएर अहिलेको अवस्थामा रहेको भन्ने किंवदन्ती पाइन्छ । मन्दिरमा हरेक तीन वर्षमा वैशाख चण्डी पूर्णिमा जात्रा लाग्ने गरेको छ ।

पालिका प्रेस
थप जानकारी