मकवानपुरको मनहरी गाउँपालिका ४ माथिल्लो मसिनेमा डीप बोरिङमार्फत खानेपानी खुवाउने तयारी गरिएको छ । कुवा तथा खोलाको पानी ल्याएर प्रयोग गर्न बाध्य माथिल्लो मसिने, चुवारपाखा लगायतका क्षेत्रका सर्वसाधारणलको सहजताको लागि मनहरी गाउँपालिकाले डीप बोरिङको पानी व्यवस्था गर्न लागिएको हो ।

२०७५ सालमा वडाको ३० लाख बजेटले डीप बोरिङ निर्माण भएपनि पानी भण्डारको लागि ट्याङ्की निर्माण भएको थिएन । अहिले चुवारपाखाको डाँडामा एकलाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण भैरहेको छ । संघीय सरकारको ७० लाख रुपैयाँको बजेटमा अहिले खानेपानी ट्याङ्की निर्माण भैरहेको छ । हेटौंडाको पतिजा निर्माण सेवाले ठेक्का पारेर १ पुसबाट धमाधम ट्याङ्की निर्माणको काम गरिरहेको छ ।

बैशाख ३० सम्म खानेपानी ट्याङ्की निर्माण सम्पन्न गर्ने सहमति भएपनि तोकिएको समयअघि नै काम सक्काउने लक्ष्य रहेको निर्माण कम्पनीका सञ्चालक श्यामसुन्दर ढकालले जानकारी दिए । मनहरी ४ नम्बर वडा अध्यक्ष प्रकाश थापाले यस परियोजनाबाट १ सय ५० भन्दा बढी घरधुरी लाभान्वित हुने जानकारी दिए । उनीहरुलाई ‘एकघर, एक धारा’ वितरण गरिने पालिकाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी