थाहा नगरपालिकामा २ नम्बर वडाका जनप्रतिनिधि तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरुले आफ्ना छोराछोरी शैक्षिक सत्र २०८१ देखि अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ ।

२७ चैतमा बसेको २ नम्बर वडा शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको वडा सदस्य तथा वडा शिक्षा समिती सदस्य युवराज बिष्टले जानकारी दिए । उनले भने–‘ “सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि वडा शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो।’ आगामी शैक्षिक सत्रबाट वडा मातहत रहेका सामुदायिक विद्यालयका शिक्षक र जनप्रतिनिधिले अनिवार्य आफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने उनको भनाइ छ ।

बैठकले अन्य सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुलाई पनि आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न अनुरोध गर्ने पनि निर्णय गरेको छ । ९ चैतमा वडा अध्यक्ष बम बहादुर सिन्तानको अध्यक्षतामा ७ सदस्यीय वडा शिक्षा समिती गठन गरेको थियो। समितिको सदस्यहरुमा वडा सदस्य युवराज बिष्ट, मत्स्यनारायण माबिका प्रधानाध्यापक बिष्णुहरी ढकाल, विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट वीर बहादुर तामाङ, शिक्षा प्रेमी दिपेन्द्र राज प्रधान, जानुका ढकाल र सदस्य सचिव दिनेश महर्जन रहेका छन।

पालिका प्रेस
थप जानकारी