माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा मकवानपुरको १० पालिका मध्ये हेटौंडा उपमहानगरपालिका अग्रस्थानमा रहेको पाइएको छ । हेटौंडाका २९ संस्थागतसहित ५८ विद्यालयबाट ३ हजार ५६ परीक्षार्थीले परीक्षा दिएकोमा १ हजार ७ सय ११ अर्थात ५५.९९ प्रतिशत उतीर्ण भएका छन् । हेटौंडाको एक सामुदायिक र एक संस्थागत विद्यालयको नतिजा भने शुन्य रहेको छ ।

 

जिल्लाको एक मात्र नगरपालिका थाहा जिल्लमै दोस्रो स्थानमा रहेको छ । थाहा नगरपालिकाको ६ संस्थागतसहित १७ विद्यालयबाट ५ सय ३९ परीक्षार्थीले परीक्षा दिएकोमा १ सय ४८ अर्थात २७.४६ प्रतिशत नतिजा हासिल गरेको छ । थाहा नगरपालिकाको कुनै पनि विद्यालयको नतिजा शुन्य रहेको छैन । जिल्लामै नतिजा शुन्य नभएको पालिका थाहा मात्र हो । जिल्लामा मकवानपुरको मनहरी गाउँपालिकाले तेस्रो स्थान लिएको छ । मनहरीबाट ३ संस्थागतसहित ११ विद्यालयबाट ४ सय ७७ परीक्षार्थीले एसइई परीक्षा दिएकोमा १ सय १५ अर्थात २४.११ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । मनहरीको ३ वटा विद्यालयको नतिजा शुन्य रहेको छ । यो संख्या शुन्य नतिजा हुने पालिकामध्ये मकवानपुरकै सबैभन्दा बढि हो ।

त्यसैगरी इन्द्रसरोवर गाउँपालिकाका ६ सामुदायिक विद्यालयका ८४ जनाले एसइई परीक्षा दिएकोमा १४ जना अर्थात १६.६७ प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् । इन्द्रसरोवरमा एउटा विद्यालयको नतिजा शुन्य भएको छ । भमिफेदी गाउँपालिकाको ८ सामुदायिक विद्यालयबाट २ सय १४ परीक्षार्थीले परीक्षा दिएकोमा २१ जना मात्र अर्थात ९.८१ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । भीमफेदीको २ वटा विद्यालयको नतिजा शुन्य छ । मकवानपुरगढी गाउँपालिकाबाट १० वटा सामुदायिक विद्यालयका ३ सय जनाले परीक्षा दिएकोमा ४६ जना अर्थात १५.३३ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । मकवानपुरगढीका एउटा विद्यालयको नतिजा शुन्य भएको छ । बकैया गाउँपालिकाको ११ विद्यालयबाट ४ सय ४ जना परीक्षार्थीले परीक्षा दिएकोमा ५२ जना अर्थात १२.८७ प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् । बकैयाको २ वटा विद्यालयको नतिजा शुन्य रहेको छ ।

त्यसैगरी बागमती गाउँपालिकाका ५ वटा विद्यालयका २ सय ३५ परीक्षार्थीले परीक्षा दिएकोमा २७ जना अर्थात ८.६ प्रतिशत विद्यार्थी उतीर्ण भए । बागमतीको पनि २ वटा विद्यालयको नतिजा शुन्य रहेको छ । कैलाश गाउँपालिकाको ६ वटा विद्यालयबाट १ सय ९९ परीक्षार्थीले एसइई परीक्षा दिएकोमा ११ जना अर्थात ५.५३ प्रतिशत विद्यार्थी मात्र उतीर्ण भए । यो उतीर्ण संख्या जिल्लामै सबैभन्दा कम हो । कैलाको २ वटा विद्यालयको नतिजा शुन्य रहेको छ । राक्सिराङ गाउँपालिकाको ५ वटा विद्यालयबाट २ सय ३१ परीक्षार्थीले परीक्षा दिएकोमा २३ जना अर्थात ९.९६ प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् । राक्सिराङको एउटा विद्यालयको नतिजा शुन्य रहेको छ ।

मकवानपुरमा ३८ संस्थागत र ९९ सामुदायिक विद्यालयबाट ५ हजार ८ सय ३९ परीक्षार्थीले परीक्षा दिएकोमा २ हजार १ सय ६८ अर्थात ३७.१३ प्रतिशत विद्यार्थी उतीर्ण भएको तथ्याङ्कले देखाएको छ । जिल्लाभर १६ विद्यालयको नतिजा शुन्य रहेको छ । हेटौंडा, थाहा र मनहरीमा मात्र संस्थागत विद्यालयको तर्फबाट विद्यार्थीहरुले एसइई परक्षिा दिएका छन् ।

पालिका प्रेस
थप जानकारी