मकवानपुरको मनहरीमा आफ्नै घरमा सुतिरहेका साथीलाई साबेलले हिर्काएर मारेका छन् । मनहरी गाउँपालिका वडा नम्बर ६ प्रतापुर लच्का घर भएका अम्मरबहादुर लोप्चनले ५० वर्षीय जीतबहादुर मोक्तानको मारेका हुन् ।

१३ मंसिर बिहानपख साढे एक बजेको समयमा अम्मरबहादुर आफ्नै घरमा सुतिरहेका मोक्तानलाई एक्कासी साबेलले हानेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका मोक्तानको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा १३ मंसिर बिहान साढे ३ बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।

मोक्तान र लोप्चनसँगसँगै निर्माण क्षेत्रमा मजदुरी गर्दै हिंड्ने गरेको डिएसपी अर्याल बताउँछन् । उनीहरू दुवै जना प्रायजसो लोप्चनको घरमा सुत्ने गरेको उनले बताए । लोप्चनलाई प्रहरीले सावेलसहित नियन्त्रणमा लिएको छ । उनले सुतिरेका मोक्तानमाथि एक्कासी साबेल किन प्रहार गरे भन्ने विषयमा अनुसन्धान भइरहेको डिएसपी अर्यालले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी