फाइल फोटो ।

काठमाडौं र मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका जोड्ने चित्लाङ–थानकोट सडक बन्द नगर्न अपिल गरिएको छ । चित्लाङस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले सडक बन्द नगर्न अनुरोध गरेको हो । विश्वविद्यालयले सडक सुधारको नाममा पठनपाठनमै असर पर्ने भएको जनाएको छ ।

विश्वविद्यालयका अध्यक्ष प्राध्यापक राजेन्द्रध्वज जोशीले ४ पुसमा विज्ञप्ती जारी गर्दै सडक बन्द गरिएमा विश्वविद्यालयको शैक्षिक तालिका (क्यालेन्डर) कार्यान्वयन हुन नसक्ने बताए । विश्वविद्यालयको शैक्षिक तालिका कार्यान्वयन उच्चशिक्षा क्षेत्रको राष्ट्रिय प्राथमिकताको विषय भएको र उच्चशिक्षाका लागि ठूलो संख्यामा विद्यार्थी बाहिरिनुका कारणमध्ये एउटा प्रमुख कारण विश्वविद्यालयले शैक्षिक तालिका पूर्णरुपमा कार्यान्वयन गर्न नसक्नु रहेको जोशीले उल्लेख गरे । जसकारण यस विश्व विद्यालयलाई शैक्षिक तालिका कार्यान्वयन गर्न सघाउनको लागि विश्वविद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी र सरोकारवालाको तर्फबाट सम्पूर्ण जनसमुदायलाई हार्दिक अनुरोध गरिएको प्राध्यापक जोशीले विज्ञप्तीमा भनेका छन् ।

सडक बन्द हुँदा विश्वविद्यालयमा अध्ययन–अध्यापन सञ्चालन हुन नसक्ने भएकोले सडक बन्द गने योजनाबारे जानकारी पाएपछि काठमाडौं सडक डिभिजन, काठमाडौं जिल्ला प्रशासन कार्यालय, चन्द्रागिरी नगरपालिका, थाहा नगर पालिकामा सम्पर्क राखी सडक बन्द भएमा विश्वविद्यालय सञ्चालन हुन नसक्ने व्यहोरा जानकारी गराइएको उनले बताए । काठमाडौं सडक डिभिजन कार्यालयले विश्वविद्यालयको चिन्तालाई गहनरुपमा नलिएको महशुस भएको जोशीले जनाए । ‘सडक बन्द गर्ने जस्तो संवेदनशील विषयमा सडक बन्द गर्दा पर्ने प्रभाव र वैकल्पिक उपायको समेतको गहन विश्लेषणबिना विश्वविद्यालयको असहमतिका बाबजुद सडक बन्द गर्न सिफारिस गर्ने निर्णय बैठकबाट गराइयो । बैठकको प्रकृति हेर्दा रीत पु¥याउँदा मात्र बैठक आयोजना गरिएको स्पष्ट देखिन्थ्यो’ विज्ञप्तीमा भनिएको छ ।

पालिका प्रेस
थप जानकारी