
मकवानपुर थाहा नगरस्तरीय अन्तर वडा मेयर कप फुटबल प्रतियोगिता, २०८१ को उपाधी ७ नम्बर वडाले जितेको छ । अघिल्लो वर्षको सितको साख टिकाउँदै ७ नम्बर वडाले यसवर्ष पनि उपाधी उचाल्न सफल भएको हो ।
थाहा नगरपालिका वडा नम्बर ३ स्थित इन्द्रायणी खेल मैदानमा भएको फाइनल प्रतियोगितामा वडा नम्बर १ लाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । फाइनल खेलमा ७ नम्बर वडाका राजन गोले र शुभराज गोलेले एक एक गोल गरे भने वडा नम्बर १ का हेमन्त प्रधानले एक गोल गरेका थिए । विजेता बनेसंगै ७ नम्बर वडाले नगद ५० हजारसहित शिल्ड, मेडल ट्रफी सहित प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता १ नम्बर वडाले नगद ३० हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नम्बर १ का रोहित श्रेष्ठ घोषित हुँदा, सर्वाधिक गोलकर्ता वडा नम्बर १ कै विनिष अमात्य, उत्कृष्ट डिफेन्डर वडा नम्बर ७ का आर एस थिङ, उत्कृष्ट गोल रक्षक ७ नम्बर वडाका आसामान गोले तथा उदयीमान खेलाडी ३ नम्बर वडाका अभियान जंग रायमाझी घोषित भए ।
विजेता तथा विधागत उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण समारोहका प्रमुख अतिथी तथा थाहा नगरपालिका नगर कार्यपालिकाका प्रमुख विष्णु बहादुर विष्ट, उपप्रमुख भरत गोपालीलगायतले पुरस्कार प्रदान गरेका थिए। प्रतियोगिता थाहा नगरपालिकाको आयोजना तथा ऋषेश्वर ११ फुटबल क्लब थाहा–४ को व्यवस्थापनमा भएको थियो ।
थाहा नगर खेलकुद विकास समिती संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी तथा नेपाली काँग्रेसका नेता जयराम लामिछानेको विशिष्ट आतिथ्यता रहेको थियो । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, थाहानगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख माधव विक्रम मल्ल, शिक्षा अधिकृत सुर्य थिङ, वडा नम्बर १ का कार्यवाहक अध्यक्ष सरोज प्रधान, वडा नम्बर ४ का अध्यक्ष नारायण लामा, वडा नम्बर ६ का अध्यक्ष राजेन्द्र भक्त श्रेष्ठ तथा स्थानीय राजनितिक दलका प्रतिनीधिहरु, संघसंस्था तथा खेलप्रेमीहरुको उपस्थिती थियो ।
प्रतिक्रिया दिनुहोस्