मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–३ अदुवाबारीमा बिहीवार राति चोर आएको भन्ठानेर एक दम्पतिले प्रतिकार गर्ने क्रममा ३० वर्षीय युवकको मृत्यु भएको छ । मुखमा मास्क लगाएर पहिचान गर्न नसक्ने गरी घर पुगेका युवकलाई चोर आएको आशंकामा घरमा एक्लै बस्दै आएका ६४ वर्षीय बाबु मीनबहादुर र ६३ वर्षीया आमा देवीमाया भ्लोनले प्रतिकार गर्दा कुटपिटबाट ३० वर्षीय भरथकुमार भ्लोनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुने भ्लोन दम्पत्तिकै चार छोरामध्ये एक रहेको प्रहरीले जनाएको छ । घरका माइला छोराबाट शुक्रबार चितवनस्थित भरतपुर अस्पतालमा मृतक भरथको सनाखत भएको प्रहरीले जानकारी दिएको छ ।

आगोफुक्ने ढुंग्रो र कोइला समात्ने फलामको चिम्टाले प्रहार गर्दा भरथको खप्पर फुटेर टाउकोमा रगत जमेको मकवानपुरका प्रहरीप्रवक्ता प्रहरी नायवउपरीक्षक (डिएसपी) श्यामु अर्यालले जानकारी दिएका छन् । बाबु मीनबहादुरका करङ भाँच्चिएको छ भने आमा देवीमायाको बायाँ हात भाँच्चिएको प्रवक्ता अर्यालले जानकारी दिएका छन् । उनीहरुको थप उपचारका लागि छोरी साइली भ्लोनले काठमाडौं लगेकी छन् । घटनाको प्रकृति हेर्दा बाबुआमा र छोराबीचमा भीडन्त नै भएको जस्तो देखिएको प्रहरीले जानकारी दिएको छ । घाइते भ्लोन दम्पत्तिले चोर आएको आशंकामा प्रतिकार गरेको प्रहरीलाई प्रारम्भिक बयान दिएका थिए ।

तर, प्रहरीले परिवारभित्र जग्गा विवाद हुनसक्ने आशंका गरेको छ । प्रहरीलाई प्राप्त सूचनाका आधारमा भ्लोन परिवार भित्र जग्गाको विवाद रहेको पाइएको प्रहरीप्रवक्ता अर्यालले बताएका छन् । ‘हामीलाई सूचना आएअनुसार जग्गा विवाद रहेको पाइएको छ । यस विषयमा गहन अनुसन्धान सुरु गरेका छौं’ प्रवक्ता अर्यालले भने । प्रवक्ता अर्यालका अनुसार भ्लोन दम्पतीले घटना कुटपिटसम्म पुग्दासम्म पनि छोरा भनेर नचिनेको बताएका छन् । ‘आफ्नै छोरा हो भनेर नचिनेको बताएका छन् । फोटो देखेपछि मात्रै चिन्छौं भनेका छन् । कुटपिटसम्म हुँदा आफ्नै छोरा चिन्न नसक्ने हुनुनपर्ने हो, घटना संकास्पद रहेकाले विस्तृत अनुसन्धान गर्ने तयारी गरिरहेको’ अर्यालले जानकारी दिएका छन् । कोभिड–१९ महामारीपछि भरथ काठमाडौं गएका थिए ।

काठमाडौं गएको चार वर्षपछि मात्र उनी बिहीवार राति घर फर्किएको प्रहरीले जनाएको छ । चार छोरा सबै काठमाडौंमा रहँदै आएको र छोरीहरु पनि बाहिरै रहेकाले घरमा भ्लोन दम्पत्ति मात्रै बस्दै आएको डिएसपी अर्यालले जानकारी दिए । भ्लोन दम्पत्ति बस्दै आएको घर पनि बस्ती भन्दा टाढा एकान्त ठाउँमा रहेको प्रहरीले जनाएको छ । बिहीवार राति मुखमा मास्क लगाएर आएका व्यक्तिले मीनबहादुर र देवीमायाको आँखामा खुर्सानीको धुलो हालेपछि उनीहरुले चोर भन्दै प्रतिकार गरेको डीएसपी अर्यालले बताए । कुटपिटबाट घाइते भएका भ्लोनदम्पती र रगताम्य अवस्थाका छोरा भरथलाई प्रहरीले गएराति नै हेटौंडा अस्पताल ल्याएको थियो । थप उपचारका लागि उनीहरुलाई चितवन पठाइएको प्रहरीप्रवक्ता अर्यालले जानकारी दिएका छन् ।

प्रहरीले शुक्रबार बिहान अनुसन्धानको क्रममा घटनास्थलबाट मृतक भरथले बोक्ने झोला फेला पारेको बताइएको छ । झोलामा भरतको पासपोर्टलगायतका कागजात भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट मोवाइल पनि बरामद गरेको छ ।

पालिका प्रेस
थप जानकारी