हेटौंडामा खुकुरी प्रहारबाट ३५ वर्षीया महिलाको हत्या भएको छ । उनलाई आफ्नै देवरले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ६ चैत्र राति ९ बजे हेटौंडा उपमहानगरपालिका–१ चौकीटोल घर भएकी गुडिया दास घरको दोस्रो तलामा मृत भेटिएकी थिइन् ।

साढे २ तले घरको दोस्रो तलामा कोठाभित्र टाउको चोट लागेको अवस्थामा गुडिया मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।घटनामा उनका कान्छा देवर २३ वर्षीय राहुल भनिने रमेश दास संलग्न रहेको आरोपमा प्रहरीले उनलाई हातमा खुकुरी बोकेकै अवस्थामा पक्राउ गरेको छ ।

राहुलले आफ्नो माइलो दाजु २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएकोे डिएसपी अर्यालले जानकारी दिए । घाइते रूपेशको टाउको, दाहिने हात, करङको भागमा चोट लागेको अर्यालले बताए । उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । रूपेश घाइते भएको खबर पाएर दासको घर पुगेको प्रहरीले माथिल्लो तलाम महिला मृत अवस्थामा रहेको थाहा पाएको थियो ।

मृतक गुडियाको श्रीमान् रोशन दास रोजगारीका लागि कतारमा रहेको प्रहरीले जनाएको छ । गुडिया र रोशनका तीन सन्तान रहेका छन् ।दास परिवारले हेटौंडामा फलफूलको व्यवसाय गर्दै आएको थियो । घटना घरायसी विवादका कारण हुन पुगेको बताइए पनि प्रहरीले स्पष्ट कारण नखुलेको बताएको छ ।

राहुलले भाउजुको हत्या र दाइ रूपेशमाथि खुकुरी प्रहार गरेको स्वीकार गरेको डिएसपी अर्यालले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी