मकवानपुरको पालुङ क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुन नसकेको क्याम्पसको सूचीमा आफ्नो नाम सूचीकृत गराएको छ । त्रिभुवन विश्वविद्यालयले स्ववियू चुनावका लागि तोकेको ५ चैत्रको मितिमा निर्वाचन गराउन नसकी पछि धेकिलिएपछि पालुङ क्याम्पसले पछिल्लो मिति तोक्नै सकेन ।

५ चैत्रमा निर्वाचन हुन नसकेका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा २० चैतभित्र चुनाव गरिसक्न त्रिभुवन विश्वविद्यालय (त्रिवि) निर्देशन दिएको थियो । यस कारण पालुङ क्याम्पस स्ववियू चुनाव गराउन नसक्ने क्याम्पसको सूचीमा परेको हो । ५ चैतमा चुनाव तय भए पनि कतिपय आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा चुनावी प्रक्रिया रोकिएपछि त्रिविले शैक्षिक क्यालेन्डरमा असर परेको भन्दै समयसीमा नै तोकेर क्याम्पस प्रशासनलाई निर्देशन दिएको थियो । पालुङ क्याम्पसले निर्देशनमा उल्लेख भएको मितिमा पनि निर्वाचन गराउन सकेन ।

मकवानपुरको हेटौंडा क्याम्पस, वनविज्ञान, बंशगोल, मनहरी, मकवानपुर क्याम्पसलगायत अरु सबै क्याम्पसमा स्ववियू निर्वाचन सफल भएपनि पालुङमा हुन नसकेको हो ।
यसअघि ५ चैत्रमा अनेरास्ववियु र नेपाल विद्यार्थी संघले निर्वाचनको पूर्व सन्ध्यामै बिहान ६ बजे निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दीका कारण स्थिती फरक बन्न पुगेपछि निर्वाचन हुन सकेको थिएन । ५ चैत्र दिनभर जस्तै केही विद्यार्थी क्याम्पस परिसरमा र केही बाहिरै हुँदा मूलगेटमा प्रहरी र विद्यार्थी ठेलमठेल भएको थियो । अवस्था असहज बनेपछि विद्यार्थीहरु सुरक्षाकर्मीलाई प्रतिवाद गर्दै गेट भित्र पसेका थिए । उनीहरुले क्याम्पस प्रशासन र निर्वाचन समिति विरुद्ध नाराबाजी समेत गरेका थिए ।

क्याम्पसले अर्को निर्णय नभएसम्मका लागि चुनाव स्थगित गरेको सूचना जारी गरेको थियो । अवस्था असहज भएको भन्दै निर्वाचन समितिले पनि राजिनामा दिएका थिए । निर्वाचन संयोजक कुमार नेगी, सदस्य हरिकृष्ण कार्की र मीना महर्जनले संयुक्त रुपमा राजिनामा दिएका हुन् । निर्वाचन गराउन चार दलका नगरस्तरीय नेताहरुबीच छलफल भएपनि निष्कर्ष बिहिन भएको थियो ।

७२ जना मतदाता रहेको क्याम्पसले जनाएको छ ।

यो पनि पढ्नुहोस्:
पालुङ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित, प्रहरी र विद्यार्थी ठेलमठेल, निर्वाचन समितिकै राजिनामा अब के हुन्छ ?

पालिका प्रेस
थप जानकारी